हसिना फर्किने चर्चासँगै गृहनगर गोपालगञ्जमा सुरक्षा कडा
- ३० कार्तिक २०८३
- १ मिनेटको पढाई
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा स्वदेश फर्किने योजना बनाएपछि उनको गृहनगर गोपालगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा चुनौतीलाई ध्यान दिँदै त्यहाँ सीमा सुरक्षा बलका १० टोली परिचालन गरिएको छ। निगरानीका लागि ड्रोन, शरीरमा जडान गरिने क्यामेरा र दङ्गा नियन्त्रण गर्ने गाडीहरू पनि राखिएको छ।
हसिना फर्किने खबरसँगै प्रतिबन्धित अवामी लिगका समर्थकहरू सक्रिय हुन थालेका छन्। उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
यसैबीच, कानुनमन्त्री मो. असदुज्जमानले हसिनालाई सुपुर्दगी सन्धिमार्फत कानुनी प्रक्रिया पुर्याएर बङ्गलादेश फर्काइने बताएका छन्। मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी उनलाई फैसलाविरुद्ध पुनरावेदन गर्ने ३० दिने म्याद सकिएपछि कानुनी बाटो बन्द हुने मन्त्रीले स्पष्ट पारेका छन्।
सन् २०२४ को जुलाई विद्रोहमा मानवताविरुद्धको अपराध गरेको भन्दै हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो। उक्त फैसलाको पूर्ण पाठ सन् २०२६ जनवरी १३ मा सार्वजनिक भएको थियो।