२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

ग्वान्टानामो बेका सबै अवैध आप्रवासी लुइसियानामा स्थानान्तरण

ग्वान्टानामो बेका सबै अवैध आप्रवासी लुइसियानामा स्थानान्तरण

न्युयोर्क- अमेरिकी रक्षा अधिकारीहरूका अनुसार, क्युबाको ग्वान्टानामो स्थित अमेरिकी नौसैनिक आधारमा राखिएका सबै ४० अवैध आप्रवासीहरूलाई अमेरिका फर्काइएको छ। उनीहरूलाई लुइसियानामा राखिएको जनाइएको छ।

यो समूहमा २३ जना ‘उच्च-जोखिम’ अवैध आप्रवासी तथा १७ जना अन्य आप्रवासीहरू रहेका थिए। अधिकारीहरूका अनुसार, अप्रवासीहरूलाई आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) को विमानमार्फत लुइसियानामा स्थानान्तरण गरिएको हो। हाल ग्वान्टानामो बेमा कुनै पनि आप्रवासी नरहेको र त्यहाँ थप आप्रवासीहरू ल्याउने कुनै उडान तालिका नरहेको बताइएको छ।

रक्षा अधिकारीहरूले ४० जना आप्रवासीहरूलाई किन अमेरिका फर्काइयो भन्ने स्पष्ट जानकारी नपाएको जनाएका छन्। होमल्यान्ड सेक्युरिटी र ICE ले समेत यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

ग्वान्टानामो बेमा आगामी दिनमा आप्रवासीहरूलाई राख्ने कि नराख्ने भन्ने विषय अझै स्पष्ट छैन। अधिकारीहरूका अनुसार, त्यहाँ ICE मापदण्ड अनुरूप नभएकाले १९५ वटा पालहरू प्रयोग नगरिएको छ। ती पालहरूमा हावाप्रवाहका लागि उचित व्यवस्था नभएको लगायतका समस्या रहेको बताइएको छ।

यसअघि, जनवरीको अन्त्यतिर राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वान्टानामो बेमा ३०,००० ओटा शय्या तयार गर्न आदेश दिएका थिए। उनले आपराधिक गतिविधिमा संलग्न अवैध आप्रवासीहरूलाई त्यहाँ राखेर अमेरिकी समुदायलाई सुरक्षित बनाउने योजना रहेको बताएका थिए।

तर, फेब्रुअरीमा यो अभियान रोकिएको थियो। त्यसअघि नै अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले ग्वान्टानामो बे भ्रमण गरेका थिए।

ग्वान्टानामो बे ४५-वर्ग माइल क्षेत्रफलमा फैलिएको छ, जुन मियामीबाट करिब ४३० माइल दक्षिणपूर्वमा अवस्थित छ। यस स्थानलाई प्रायः ९/११ आतंकवादी आक्रमणका अभियुक्तहरू राख्न प्रयोग गरिने हिरासत केन्द्रका रूपमा चिनिन्छ।

यसैबीच, राष्ट्रपति ट्रम्पले ‘एलिएन एनेमीज एक्ट, १७९८’ लागू गर्ने तयारी गरिरहेको बताइएको छ। यस कानूनले युद्धकालमा राष्ट्रपति लाइ आप्रवासीहरूलाई पक्राउ गर्ने वा देश निकाला गर्न विशेष अधिकार दिन्छ। ट्रम्पले यो कानून भेनेजुएलाको हिंस्रक आपराधिक समूह ‘Tren de Aragua’ का सदस्यहरूलाई लक्षित गर्दै लागू गर्ने योजना बनाएको न्यूयोर्क पोस्टले जनाएको छ।

ट्रम्प प्रशासनको यो कदम अवैध आप्रवासीहरूको द्रुत निष्कासन प्रक्रियालाई तीव्र बनाउने प्रयासको रूपमा हेरिएको छ।