३० जेष्ठ २०८३, शनिबार
13 June 2026, Saturday

ईरान–अमेरिका टकरावले किन सारा मध्यपूर्वलाई चपेटामा ल्याउँछ?

ईरान–अमेरिका टकरावले किन सारा मध्यपूर्वलाई चपेटामा ल्याउँछ?

न्युयोर्क- १३ जुनमा इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको तनाव २२ जुनमा अमेरिका स्वयं युद्धमा सहभागी भएसँगै अझ चर्किएको छ। अमेरिकाले इरानका तीन महत्वपूर्ण आणविक केन्द्रहरू—फोर्दो, नतांज र इस्फहानमाथि बंकर बस्टर बम प्रयोग गरी आक्रमण गरेपछि परिस्थितिले नयाँ मोड लिएको हो।

यसअघि इजरायलको साथ दिएर मात्र सीमित भूमिका निभाइरहेको अमेरिका कतारको दोहा नजिक रहेको अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल आक्रमणपछि प्रत्यक्ष रूपमा युद्धमा तानिएको छ। इरानले यस आक्रमणलाई आत्मरक्षाको अधिकार भन्दै संयुक्त राष्ट्रसंघको चार्टर अन्तर्गत गरिएको बताएको छ।

कतारले आफ्नो आकाशमार्ग बन्द गर्दै इरानी आक्रमणलाई आफ्नो सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको प्रतिक्रिया दिएको छ। कतारको सरकारी वक्तव्य अनुसार, उनले इरानी मिसाइलहरू आकाशमै निष्क्रिय पारेको दाबी गरेको छ। यद्यपि, इरानले कतारसँग शत्रुता नभएको र आक्रमण केवल अमेरिकी सैन्य उपस्थितिलाई लक्ष्य गरेर गरिएको स्पष्ट पारेको छ।

इरानको यस्तो कदमले देखाउँछ कि यदि अमेरिका वा इजरायलसँग तनाव बढ्यो भने, त्यो केवल दुई देशबीचको मुद्दा रहने छैन। अमेरिकी फौज केवल कतारमा मात्र नभई साउदी अरब, यूएई, बहराइन, कुवेत, इराक, जॉर्डन जस्ता अरु मध्यपूर्वी मुलुकहरूमा समेत ठूलो संख्यामा रहेका छन्। सन् २०२४ को तथ्याङ्क अनुसार, गल्फ क्षेत्रभर झण्डै ७० हजार अमेरिकी सैनिकहरू रहेका छन्।

यी सैन्य अखडाहरू रहेको देशहरूमाथि आक्रमण भएमा तिनीहरू स्वतः द्वन्द्वमा तानिन्छन्। कतारसँग सधैँ मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको इरानले कतारको भू–भागमै हमला गरेपछि कतारले पनि कडा प्रतिक्रियासहित चेतावनी दिएको छ। साउदी अरब र कतार दुवैले इरानी आक्रमणको निन्दा गरे तापनि साउदीको प्रतिक्रिया अझ कडा र निर्णायक देखिएको छ।

पश्चिम एसिया विशेषज्ञ प्रा. अश्विनी महापात्राका अनुसार, गल्फ क्षेत्रका धेरै देशहरू आन्तरिक अस्थिरता र वैधानिकताको संकटबाट ग्रस्त छन्। तिनले अमेरिकी सहयोगबिना आफ्नो शासन टिकाउने अवस्था नरहेको हुँदा युद्ध भएमा ती सबै देशहरू अमेरिकी पक्षमा उभिन बाध्य हुन्छन्। फलस्वरूप, इरानले अमेरिका वा इजरायलमाथि युद्धको आँच फैलाउने हो भने, उसले आफ्नो छिमेकीहरूसँग पनि अप्रत्यक्ष संघर्ष गर्नुपर्ने अवस्था आउँछ।

पूर्व भारतीय राजदूत तलमीज़ अहमदका अनुसार, अमेरिकी फौजहरू जुनसुकै देशमा भए पनि त्यहाँको राष्ट्रिय कानूनभन्दा माथि छन्। यसले ती देशहरूमा अमेरिकी फौजी गतिविधि स्वतन्त्र रूपमा सञ्चालन हुन दिन्छ। यसै कारण इजरायली ड्रोनहरू जार्डन हुँदै इरान पुगेको दाबी गरिएको छ।

गल्फ क्षेत्रका मुख्य अमेरिकी सैन्य ठेगानाहरू यसप्रकार छन्:

-कतार: अल–उदैद एयर बेस, मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा।
-साउदी अरब: प्रिन्स सुल्तान एयर बेस।
-यूएई: अल–दहाफ्रा एयर बेस।
-बहराइन: अमेरिकी नेभीको पाँचौँ फ्लीट मुख्यालय।
-कुवेत: क्याम्प अरिफजान र अली अल–सालेम एयर बेस।
-इराक: ऐन अल–असद र इरबिल एयर बेसहरू।
-जार्डन: मुवाफक अल–सलती एयर बेस।

यसरी हेर्दा, इरान र अमेरिका/इजरायलबीचको टकरावले केवल ती देशहरूमा सीमित नरही सारा मध्यपूर्वलाई अस्थिर बनाउन सक्ने स्पष्ट संकेत देखिएको छ। ईरानले यदि अमेरिकी हितमा रहेका कुनै पनि सैन्य अखडालाई निशाना बनायो भने, त्यसले सम्पूर्ण क्षेत्रीय शान्तिमा भयावह असर पार्न सक्छ। यस्तो परिस्थितिमा एउटा सीमित संघर्षले बहुराष्ट्रिय युद्धको रूप लिने खतरा अझै गहिरिंदो छ।