२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

भूकम्पको अध्ययन गर्न इजरायलद्वारा मृत सागरको पिँधमा ५५ किलोमिटर तार जडान

भूकम्पको अध्ययन गर्न इजरायलद्वारा मृत सागरको पिँधमा ५५ किलोमिटर तार जडान

न्युयोर्क- इजरायलले भूकम्पको गहिरो अध्ययन गर्न मृत सागरको पिँधमा ५५ किलोमिटर लामो अत्याधुनिक फाइबर तार बिछ्याएको छ। इजरायलको भौगर्भिक अनुसन्धान संस्थाले मंगलबार यसबारे जानकारी दिएको हो।

भूकम्पको कम्पनलाई सजिलै नाप्न गत जुलाईमा यो विशेष तारलाई समुद्रको पिँधमा बाङ्गो–टिङ्गो आकारमा राखिएको थियो। यसमा लेजर प्रकाश प्रविधि प्रयोग गरिएको छ। जमिन हल्लिँदा तारभित्रको प्रकाशमा आउने सानो परिवर्तनलाई यसले नाप्ने काम गर्छ। यसरी यो लामो तारले हजारौँ भूकम्प नाप्ने यन्त्रले जस्तै काम गर्छ र सानाभन्दा साना कम्पनलाई पनि तुरुन्तै रेकर्ड गर्छ।

यो कामको मुख्य उद्देश्य अफ्रिकी र अरेबियन भौगर्भिक तह (प्लेट) को सिमानामा रहेको मृत सागरको दरारबारे विस्तृत अध्ययन गर्नु हो। यो त्यही क्षेत्र हो, जहाँ विगतमा निकै शक्तिशाली र विनाशकारी भूकम्पहरू गएका थिए।

संस्थाका अनुसार यो नयाँ प्रविधिको मद्दतले समुद्रमुनि गइरहने साना भूकम्पका धक्काहरू सजिलै पत्ता लगाउन सकिनेछ। यसका साथै, अहिलेसम्म मानिसले नदेखेका र पत्ता नलागेका सक्रिय भूकम्पीय दरारहरूको विस्तृत नक्सासमेत तयार पारिनेछ।