न्युयोर्क- छ महिनासम्मको सक्रिय आप्रवासन कारबाहीपछि पनि अमेरिकी आप्रवासन र सीमा सुरक्षा निकाय (ICE) ले आपराधिक गतिविधिमा संलग्न आप्रवासीहरूमाथि कडाइ गर्ने वाचा अनुसार काम गर्न नसकेको तथ्य खुलासा भएको छ। NBC News ले प्राप्त गरेको आन्तरिक विवरणअनुसार, हत्या अभियोगमा दोषी ठहर भइसकेका आप्रवासीहरूमध्ये केवल ६% मात्रलाई ICE ले पक्राउ गर्न सकेको छ।
अक्टोबर १ देखि मे ३१ सम्मको अवधिमा ICE ले १ लाख ८५ हजारभन्दा बढी व्यक्तिहरूलाई पक्राउ गर्यो, जसमध्ये करिब ६५ हजार जनालाई कुनै न कुनै अपराधमा दोषी ठहर गरिएको थियो। तर तीमध्ये अधिकांश ट्राफिक वा आप्रवासनसम्बन्धी साना अपराधहरूमा मात्र संलग्न थिए।
यही अवधिमा ICE ले ७५२ जना हत्या अभियोगमा दोषी ठहर भइसकेका र १,६९३ जना यौन दुर्व्यवहार अभियोग लागेकाहरूलाई मात्रै पक्राउ गरेको देखिन्छ। यो संख्या ICE को आफ्नै अभिलेखमा रहेका १३,०९९ जना हत्यारा र १५,८११ जना यौन अपराधीहरूमध्ये अत्यन्तै न्यून हो।
सन् २०२० को चुनाव अभियानमा डोनाल्ड ट्रम्पले यिनै तथ्याङ्कलाई आधार बनाई भनेका थिए, “यी आप्रवासीहरू कठोर अपराधी हुन्, जो देशभरि स्वतन्त्र रूपमा घुमिरहेका छन्।” तर तिनका शासनकालमा समेत यस्ता आपराधिक आप्रवासीहरूको संख्यामा खासै कमी आएको छैन।
NBC को रिपोर्टमाथि प्रतिक्रिया दिँदै अमेरिकी गृह सुरक्षा विभाग (DHS) की प्रवक्ता ट्रिसिया म्याकलफलिनले “डेटा गलत छ” भने पनि ठोस वैकल्पिक संख्या प्रस्तुत गरिनन्। उनले भने, “ट्रम्प प्रशासनले ग्याङ सदस्य, हत्यारा र बलात्कारीहरूलाई प्राथमिकतामा राखेर पक्राउ गरिरहेको छ।”
तर कतिपय विश्लेषकहरूको भनाइ छ कि ट्रम्प प्रशासनले सबै अवैध आप्रवासीहरूलाई निशाना बनाउने रणनीति अपनाएको छ, जसले साना गैरअपराधी आप्रवासीहरूलाई पनि पीडित बनाएको छ।
टेक्सासबाट सांसद टोनी गन्जालसले भने, “हामीले संख्यामा हैन, खतरनाक अपराधीलाई हटाउनेतर्फ ध्यान दिनुपर्छ। १,००० जनालाई निर्वासित गर्यो भनेर मात्र होइन, तीमध्ये कति आपराधिक पृष्ठभूमि भएका थिए भन्ने मुख्य हो।”
DHS का एक वरिष्ठ अधिकारीका अनुसार, गम्भीर अपराधीहरूलाई गिरफ्तार गर्न अनुसन्धान, सूचना संकलन र सुरक्षाको गहिरो संयोजन आवश्यक हुन्छ, जसले गर्दा सो काम झन्झटिलो र समयलाग्दो हुन्छ। उनी भन्छन्, “प्रशासन अब केवल गैरकानुनी हैसियतमा रहेका सबै आप्रवासीहरूलाई हटाउनेतर्फ लागेको देखिन्छ, अपराधी वा गैरअपराधी छुट्याउनमा ध्यान दिएको छैन।”
गन्जालस र अन्य पाँच रिपब्लिकन सांसदहरूले यसै महिना ICE लाई पत्र लेख्दै आपराधिक आप्रवासीहरूको गिरफ्तारीमा अद्यावधिक विवरण मागेका छन्। उनीहरूले लेखे, “प्रत्येक मिनेट जुन हामी एक स्वच्छ रेकर्ड भएको व्यक्तिमाथि खर्च गर्छौं, त्यो मिनेट एक आतंकवादी वा ड्रग कार्टेल सदस्यलाई समात्न छुटिरहेको हुन्छ।”
यो रिपोर्टले देखाउँछ कि आप्रवासन कारबाहीमा कठोर भाषण दिनु र व्यवहारमा प्रभावकारी कार्यान्वयन गर्न सक्नु अलग कुरा हो। ट्रम्प प्रशासनको “worst of the worst” नीति जनतामाझ लोकप्रिय भए तापनि, वास्तविकता त्यो जस्तो देखिँदैन।