शरीरभित्र निगरानी र औषधि नियमन गर्ने नयाँ रोबोटको विकास
- ०५ अशोज २०८२
- १ मिनेटको पढाई
बेइजिङ- चिनियाँ वैज्ञानिकहरूको टोलीले शरीरभित्र संवेदनशील कार्यहरू गर्न सक्ने अत्यन्तै सानो र अत्याधुनिक रोबोट विकास गर्न सफल भएको छ। यसले औषधिको सही मात्रा पुर्याउने र शरीरभित्रका विभिन्न अवस्थाहरू निगरानी गर्न सक्षम छ।
यो यन्त्र चीनको ह्वाजोङ विज्ञान तथा प्रविधि विश्वविद्यालय र हङकङस्थित चिनियाँ विश्वविद्यालय का विज्ञहरूको सहकार्यमा तयार पारिएको हो। यन्त्रको चौडाइ करिब १.३ मिलिमिटर र तौल ४.६ मिलिग्राम मात्र छ।
रोबोटले बल, कम्पन, चिप्लोपन र तापक्रम जस्ता सूचकहरू ताररहित रूपमा मापन गर्न सक्छ। परीक्षणमा यसले साना र संवेदनशील वस्तुहरू सजिलै सम्हाल्न सक्षम भएको देखाइएको छ।
सुँगुरमा गरिएको परीक्षणले तापक्रमका सूक्ष्म परिवर्तनहरू पत्ता लगाएको छ भने अर्को संस्करणले खसीको पेटभित्र औषधिको सही मात्रा पुर्याएर समयक्रममा मापन गर्न सफल भएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार यी परीक्षणहरूले रोबोटको व्यावहारिक प्रयोग सम्भव बनाएको छ र स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रमा यसको ठूलो योगदान हुने विश्वास व्यक्त गरिएको छ।