६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

अफगानिस्तानमा इन्टरनेट र सञ्चार पूर्ण बन्द, तालिबानको ‘ब्ल्याकआउट’ आदेश

अफगानिस्तानमा इन्टरनेट र सञ्चार पूर्ण बन्द, तालिबानको ‘ब्ल्याकआउट’ आदेश

न्युयोर्क – अफगानिस्तानमा तालिबान सरकारले देशभर इन्टरनेट तथा सम्पूर्ण सञ्चार सेवा बन्द गरेको छ। इन्टरनेट निगरानी संस्था नेटब्लक्सका अनुसार हाल अफगानिस्तानमा पूर्ण सञ्चार ब्ल्याकआउट छ।

तालिबानले ‘अनैतिकता नियन्त्रण’ गर्ने भन्दै केही हप्तादेखि फाइबर अप्टिक इन्टरनेट लाइन काट्ने काम सुरु गरेको थियो। परिणामस्वरूप राजधानी काबुललगायत देशका अन्य भागमा फोन, मोबाइल, इन्टरनेट र स्याटेलाइट टेलिभिजनसमेत बन्द भएको समाचार एजेन्सी एएफपीले जनाएको छ।

सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले आफ्नो इस्लामी सरिया कानुनको व्याख्याअनुसार लगातार कडा प्रतिबन्धहरू लगाउँदै आएको छ। नयाँ आदेशअनुसार अर्को सूचना नआएसम्म सम्पूर्ण सञ्चार सेवा बन्द नै रहने बताइएको छ।

यसले अन्तर्राष्ट्रिय आवागमनमा समेत असर पारेको छ। बिबिसीका अनुसार काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरू अवरुद्ध भएका छन्। फ्लाइटराडार२४ का तथ्याङ्कअनुसार मंगलबार मात्रै कम्तीमा ८ उडान रद्द गरिएका छन्।