२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

भारत–भुटानबीच पहिलो सीमापार रेलमार्ग निर्माणको सम्झौता, चार वर्षमै सम्पन्न हुने घोषणा

भारत–भुटानबीच पहिलो सीमापार रेलमार्ग निर्माणको सम्झौता, चार वर्षमै सम्पन्न हुने घोषणा

न्युयोर्क – भारत र भुटानबीच पहिलो पटक दुवै देशलाई जोड्ने रेलमार्ग निर्माण गर्ने सहमति भएको छ। करिब ४५ करोड ४० लाख अमेरिकी डलर (झण्डै ३५ अर्ब भारतीय रुपैयाँ) लागतको यो परियोजना चार वर्षभित्र सम्पन्न हुने घोषणा भारत सरकारले गरेको हो।

भारतीय विदेश सचिव विक्रम मिस्रीले भारत भुटानको प्रमुख व्यापारिक साझेदार भएकाले यस परियोजनाले भुटानको पूर्वाधार र अर्थतन्त्र आधुनिकीकरणमा ठूलो योगदान गर्ने बताए।

भारतका रेलमन्त्री अश्विनी वैष्णवका अनुसार नयाँ रेलमार्गले भुटानका जनताका लागि विशाल फाइदा पुर्‍याउनेछ। अहिले दिनौं लाग्ने सामान ढुवानी काम केही घण्टामै सम्पन्न हुने उनले विश्वास व्यक्त गरे।

प्रारम्भिक ६९ किलोमिटर रेलमार्ग भारतको असम राज्यको कोक्राझारबाट सुरु भई भुटान सीमावर्ती सहर गेलेफुसम्म पुग्नेछ। यसका लागि करिब ३९ करोड डलर खर्च हुने अनुमान गरिएको छ।

त्यस्तै, दोस्रो चरणमा २० किलोमिटर रेलमार्ग निर्माण हुनेछ, जसले भुटानको उत्तरपश्चिमी औद्योगिक केन्द्र सामत्सेलाई भारतको बानरहाटसँग जोड्नेछ। यसका लागि झण्डै ५ अर्ब ७७ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान छ।

भूपरिवेष्टित भुटानको जनसङ्ख्या आठ लाखभन्दा कम भए पनि देशले हाल आर्थिक विकासका लागि गेलेफुमा विशेष आर्थिक क्षेत्र विकास गर्ने योजना अघि सारेको छ। रेलमार्ग बनेपछि भुटानलाई दक्षिण एसिया र दक्षिणपूर्व एसियासँग जोड्ने अवसर मिल्ने भारतीय पक्षको दाबी छ।

रेलमन्त्री वैष्णवले नयाँ रेललाइनहरू पूर्ण विद्युतीय र वातावरणमैत्री हुने जानकारीसमेत दिएका छन्।