स्पेनमा भीषण रेल दुर्घटना: दुई उच्चगतिको रेल ठोक्किँदा २१ जनाको मृत्यु
- ०५ माघ २०८२
- १ मिनेटको पढाई
स्पेन- दक्षिणी स्पेनमा आइतबार साँझ एउटा हृदयविदारक रेल दुर्घटना भएको छ, जसमा परी कम्तीमा २१ जनाको ज्यान गएको छ। मालागाबाट म्याड्रिडतर्फ जाँदै गरेको करिब ३०० यात्रु सवार उच्चगतिको रेल कोर्डोबा नजिकै अचानक पटरीबाट खसेर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा यो ठूलो मानवीय क्षति भएको हो।
दुर्घटनाको प्रकृति निकै भयानक रहेको अधिकारीहरूले बताएका छन्। पटरीबाट खसेको रेलको पछाडिको भाग उफ्रेर विपरीत दिशाबाट आइरहेको अर्को रेलको अगाडिको भागमा ठोक्किएको थियो, जसका कारण रेलका केही डब्बाहरू ट्र्याकबाट करिब चार मिटर तल ढलानमा खसेका थिए। यस दुर्घटनामा परी ७५ जना यात्रु घाइते भएका छन्, जसमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ। स्पेनका यातायातमन्त्री ओस्कार पुएन्टेले यस घटनालाई ‘साँच्चै अनौठो’ भन्दै अचम्म व्यक्त गरेका छन, किनकि दुर्घटना भएको ट्र्याक हालै मात्र मर्मत गरिएको थियो।
घटनास्थलमा स्पेनी सेना, रेड क्रस र उद्धार टोलीहरूले रातभर भग्नावशेष हटाउने र घाइतेहरूको उद्धार गर्ने कार्य जारी राखेका थिए। रेलमा सवार यात्रुहरूले झ्यालका सिसा फुटाएर ज्यान जोगाउन सफल भएको दर्दनाक अनुभव सुनाएका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र राजा फेलिप छैटौँले यस दुखद घडीमा मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गरे। यस दुर्घटनापछि म्याड्रिड र अन्डालुसियाबीचको उच्चगति रेल सेवा हाललाई स्थगित गरिएको छ र घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ।