२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अमेरिकालाई जवाफ: इरानले तैनाथ गर्यो १ हजार ‘लडाकु ड्रोन’, खाडीमा युद्धको खतरा

अमेरिकालाई जवाफ: इरानले तैनाथ गर्यो १ हजार ‘लडाकु ड्रोन’, खाडीमा युद्धको खतरा

न्युयोर्क- अमेरिका र इरानबीचको तनाव अब ‘वाकयुद्ध’ बाट अघि बढेर ‘हतियार’ तिर सर्दैछ। बिहीबार इरानले एकैचोटि १ हजार वटा स्वदेशी ‘रणनीतिक युद्धक’ ड्रोनहरू आफ्नो सेनामा भर्ती गरेको घोषणा गरेको छ। अमेरिकाले आफ्नो शक्तिशाली युद्धपोत पठाएपछि इरानले पनि यो शक्ति प्रदर्शन गरेको हो।

इरानी सेना प्रमुख अमिर हतामीका अनुसार, यी ड्रोनहरू जमिन, समुद्र र आकाश जहाँसुकै रहेका लक्ष्यलाई पनि ध्वस्त पार्न सक्षम छन्। रोचक कुरा के छ भने, गत वर्ष इजरायलसँग भएको ‘१२ दिने युद्ध’ बाट पाठ सिकेर यी ड्रोनहरू विशेष रूपमा तयार पारिएका हुन्।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तह लगाउन ‘युएसएस अब्राहम लिंकन’ सहितको विशाल युद्धपोतको लर्को खाडीमा पठाएका छन्। ट्रम्पले “समय घर्किसक्यो” भन्दै सम्झौतामा आउन चेतावनी दिइरहेको बेला इरानले भने आफ्ना स्थल, वायु र जलसेनालाई यी आधुनिक ड्रोनहरू बाँडेर “हामी पनि तयार छौँ” भन्ने कडा सन्देश दिएको छ।