२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अमेरिका र रुसको ‘आणविक लगाम’ टुट्यो: विश्व झन् खतरनाक मोडमा

अमेरिका र रुसको ‘आणविक लगाम’ टुट्यो: विश्व झन् खतरनाक मोडमा

वासिङ्टन- विश्वका दुई महाशक्ति अमेरिका र रुसबिचको अन्तिम आणविक सम्झौता ‘न्यु स्टार्ट’ भोलि (बिहीबार) बाट सकिँदै छ। यो सामान्य खबर होइन, किनकि यसले अब विश्वलाई एउटा नयाँ र डरलाग्दो आणविक दौडतिर धकेल्ने खतरा बढाएको छ।

विगत ५० वर्षमा पहिलो पटक यस्तो अवस्था आउँदैछ, जहाँ अमेरिका र रुसले कति वटा परमाणु बम वा मिसाइल राख्ने भन्नेमा कुनै कानुनी रोकटोक हुनेछैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो सम्झौतालाई एक वर्ष लम्ब्याउन आफू तयार रहेको बताएका थिए। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा खासै चासो देखाएका छैनन्। ट्रम्पको चाहना चीनलाई पनि यो वार्तामा ल्याउने थियो, तर चीनले आफ्नो हतियारमा बन्देज लगाउन सिधै अस्वीकार गरिदिएको छ।

रुसका प्रवक्ता दिमित्री पेस्कोभले चेतावनी दिँदै भनेका छन्– “सम्झौता सकिएपछि अब विश्व अझै खतरनाक ठाउँ बन्नेछ।” सन् २०१० मा भएको यो सम्झौताले दुवै देशलाई १५५० वटाभन्दा बढी आणविक हतियार राख्न नपाउने नियममा बाँधेको थियो। अब त्यो बाँध फुट्दै छ। विज्ञहरूका अनुसार, अब अमेरिका, रुस र चीनबिच कसले धेरै हतियार थुपार्ने भन्ने त्रिपक्षीय होडबाजी चल्न सक्छ, जुन हाम्रो जीवनकालमै देखिएको सबैभन्दा ठुलो सुरक्षा चुनौती हो।