२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

सङ्क्रमणकालीन परिषद् गठन, इरानमा एक-दुई दिनमै नयाँ सर्वोच्च नेता चयन हुने

सङ्क्रमणकालीन परिषद् गठन, इरानमा एक-दुई दिनमै नयाँ सर्वोच्च नेता चयन हुने

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास आराघचीले एक वा दुई दिनभित्रै देशको नयाँ सर्वोच्च नेता चयन हुने बताएका छन्। सर्वोच्च नेता अली खामेनीको हत्यापछि इरानले संवैधानिक प्रक्रिया सुरु गरेको उनले जानकारी दिए।

आराघचीले राज्य सञ्चालन गर्न सङ्क्रमणकालीन परिषद् गठन भएको बताए। यो परिषद्‌मा राष्ट्रपति, न्यायपालिका प्रमुख र संरक्षक परिषद्का एक कानुनविद् छन्। नयाँ नेता नआएसम्म यो तीन सदस्यीय टोलीले देशको नेतृत्व सम्हाल्ने उनले प्रस्ट पारे। त्यसलगत्तै विज्ञहरूको सभाले नयाँ नेता छान्ने प्रक्रिया सुरु गर्नेछ।

विदेशमन्त्रीले सर्वोच्च नेताको हत्यालाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भनेका छन्। उनले यो घटनाले अवस्था थप खतरनाक र जटिल बनाएको बताए। आफ्नो रक्षा गर्न इरानलाई कुनै प्रतिबन्ध नरहेको बताउँदै उनले देशको सम्पूर्ण प्रणाली संविधानअनुसार नै चलिरहेको जानकारी दिए।

३७ वर्षदेखि सत्तामा रहेका खामेनीको हत्या इरानका लागि ठूलो धक्का हो। यद्यपि, इरानको शासन प्रणाली नेताको मृत्युपछि पनि निरन्तर चलिरहने गरी बनाइएको छ। अब ८८ सदस्यीय धार्मिक निकायले खामेनीकै बाटोमा हिँड्ने नयाँ उत्तराधिकारी छान्नेछ।