२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

अमेरिकी सैन्य अखडामा इरानी हमलाबाट झन्डै ८० करोड डलरको भौतिक क्षति

अमेरिकी सैन्य अखडामा इरानी हमलाबाट झन्डै ८० करोड डलरको भौतिक क्षति

न्युयोर्क- मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूमा इरानले गरेको आक्रमणका कारण युद्धको पहिलो दुई सातामै झन्डै ८० करोड डलर अर्थात् सवा खर्ब नेपाली रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) र बीबीसीले गरेको नयाँ विश्लेषणले यस्तो तथ्य सार्वजनिक गरेको हो। इरानले विशेषगरी अमेरिकी हवाई प्रतिरक्षा प्रणाली र सञ्चार केन्द्रहरूलाई निशाना बनाउँदा यो ठूलो क्षति भएको देखिएको छ।

सबैभन्दा धेरै क्षति जोर्डनमा रहेको ‘थाड’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको रेडारमा पुगेको छ, जसको एउटैको मूल्य मात्रै करिब ४८ करोड ५० लाख डलर पर्छ। यस्ता प्रणालीहरू लामो दूरीका ब्यालिस्टिक मिसाइल रोक्न प्रयोग गरिन्छन्। यसबाहेक कुवेतको अलि अल-सलिम, कतारको अल-उदैद र साउदी अरेबियाको प्रिन्स सुल्तान हवाई सैन्य अखडामा रहेका भवन तथा अन्य संरचनाहरूमा पनि ३१ करोड डलरभन्दा बढीको क्षति पुगेको छ। भूउपग्रहबाट प्राप्त तस्बिरहरूले इरानले निश्चित अमेरिकी अखडाहरूलाई पटक-पटक निशाना बनाएको पुष्टि गरेका छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हमला गरेयता १३ अमेरिकी सैनिकको ज्यान गइसकेको छ भने समग्र युद्धमा हालसम्म ३,२०० जनाको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य क्षमता नष्ट गर्ने लक्ष्यमा आफूहरू सफल भइरहेको दाबी गरे पनि युद्धको खर्च भने तीव्र रूपमा बढिरहेको छ। अमेरिकी रक्षा मन्त्रालयले युद्धको पहिलो ६ दिनमै ११.३ अर्ब डलर खर्च गरिसकेको छ भने थप २०० अर्ब डलर बजेट माग गरेको छ। यो युद्धका कारण विश्वकै प्रमुख तेल ढुवानी मार्गमा अवरोध सिर्जना हुँदा विश्व अर्थतन्त्रमा समेत गम्भीर संकट देखिन थालेको छ।