२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

मध्यपूर्वमा हवाई प्रतिबन्ध: त्रिभुवन विमानस्थलबाट १० अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्वमा हवाई प्रतिबन्ध: त्रिभुवन विमानस्थलबाट १० अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं- मध्यपूर्व क्षेत्रमा विकसित असामान्य सुरक्षा परिस्थिति र हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने १० वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन्। विमानस्थल कार्यालयले आइतबारका लागि निर्धारित विभिन्न वायुसेवाका उडानहरू सुरक्षा जोखिमलाई ध्यानमा राख्दै स्थगित गरिएको जानकारी दिएको छ।

रद्द गरिएका उडानहरूमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, कुवेत एयरवेज र जजीरा एयरवेजका जहाजहरू रहेका छन्। विशेषगरी काठमाडौंबाट कुवेत, दुबई, दोहा र दमाम जाने तथा ती सहरहरूबाट फर्कने उडानहरू पूर्ण रूपमा प्रभावित भएका हुन्। अन्तर्राष्ट्रिय हवाई मार्गमा उत्पन्न जोखिमका कारण उडान तालिका फेरबदल वा थप रद्द हुन सक्ने सम्भावना समेत रहेको सूचनामा उल्लेख छ।

विमानस्थल प्रशासनले यात्रुहरूको असुविधा कम गर्न सम्बन्धित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेको जनाएको छ। उडान प्रभावित भएका यात्रुहरूलाई थप जानकारीका लागि एयरलाइन्सको वेबसाइट हेर्न वा आधिकारिक टेलिफोन नम्बरमा सम्पर्क गरी उडानको स्थिति यकिन गर्न आग्रह गरिएको छ। परिस्थिति सामान्य हुनासाथ उडान सेवा पुनः नियमित गरिने विमानस्थल कार्यालयले स्पष्ट पारेको छ।