२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

ट्रम्पको टोलीद्वारा इरानसँग युद्धविरामको पहल, दुवै पक्षका सर्तले वार्ता अन्योलमा

ट्रम्पको टोलीद्वारा इरानसँग युद्धविरामको पहल, दुवै पक्षका सर्तले वार्ता अन्योलमा

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले इरानसँग जारी युद्ध रोक्नका लागि युद्धविराम वार्ताको प्रयास सुरु गरेको छ। एक्सियोस न्यूजका अनुसार ट्रम्पका सल्लाहकारहरू जारेड कुशनर र स्टीव विटकफ यस प्रक्रियामा सक्रिय रूपमा संलग्न छन्। तर, इरानले वार्ताका लागि युद्ध रोक्नुपर्ने, युद्धबाट भएको क्षतिको पूर्ति पाउनुपर्ने र भविष्यमा पुनः आक्रमण नहुने दृढ ग्यारेन्टी हुनुपर्ने जस्ता कडा सर्तहरू अघि सारेको छ।

अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले इरानका सबै सर्तहरू, विशेष गरी क्षतिपूर्तिको माग स्वीकार गर्न आफू तयार नरहेको स्पष्ट पारेका छन्। अमेरिकाले इरानको क्षेप्यास्त्र कार्यक्रम र युरेनियम संवर्द्धन पूर्ण रूपमा बन्द हुनुपर्ने तथा आणविक सुविधाहरू ध्वस्त पार्नुपर्ने माग राखेको छ। साथै, इरानले हिज्बुल्लाह र हमास जस्ता समूहलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्नुपर्ने अमेरिकाको अडान छ। हाल दुई देशबीच प्रत्यक्ष वार्ता नभए पनि इजिप्ट, कतार र बेलायतले मध्यस्थताको भूमिका खेलिरहेका छन्।

यसैबीच, इरानी राष्ट्रपति मसूद पजदाकियानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गर्दै इरानमाथिको आक्रमण रोक्न ‘ब्रिक्स’ (BRICS) देशहरूले भूमिका खेल्नुपर्ने बताएका छन्। उनले मध्यपूर्वी देशहरू मिलेर नयाँ सुरक्षा प्रणाली बनाउनुपर्ने सुझाव समेत दिएका छन्। अमेरिका-इजरायल र इरानबीचको युद्ध २३औँ दिनमा प्रवेश गर्दा विश्वभर पेट्रोलियम पदार्थको चरम हाहाकार मच्चिएको छ।