कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु
- १० चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- कोलम्बियामा वायुसेनाको एउटा विमान उडेको केही बेरमै दुर्घटना हुँदा कम्तीमा ६६ जनाको ज्यान गएको छ। यस दुर्घटनामा परेर दर्जनौँ मानिस घाइते भएका छन्। वायुसेनाका अधिकारीहरूका अनुसार उक्त विमानमा ११४ सैनिक र चालक दलका ११ जना सवार थिए।
अमेरिकामा बनेको उक्त विमान देशको दक्षिणी भागमा पर्ने प्वेर्टो लेगिसामो सहर नजिकै दुर्घटनामा परेको हो। रक्षामन्त्री पेड्रो सान्चेजले दुर्घटनापछि विमानमा आगो लागेको र त्यहाँ रहेका गोलीगट्ठाहरू पड्किएको जानकारी दिए। ज्यान गुमाउनेहरूमा ५८ सैनिक, वायुसेनाका ६ कर्मचारी र दुई प्रहरी अधिकारी छन्।
दुर्घटनास्थलबाट स्थानीय बासिन्दाले घाइते सैनिकहरूलाई मोटरसाइकलमा राखेर अस्पताल पुर्याएका थिए। कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रोले यो भयानक दुर्घटना हुन नहुने बताए। उनले सेनाका साधन र विमानलाई नयाँ बनाउने आफ्नो योजना प्रशासनिक समस्याका कारण रोकिएको भन्दै अब कुनै ढिलाइ हुन नदिने बताए।