२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अमेरिका–इजरायल र इरान युद्धको एक महिना: विनाश र विश्वव्यापी संकट

अमेरिका–इजरायल र इरान युद्धको एक महिना: विनाश र विश्वव्यापी संकट

वासिङ्टन– अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेको एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको भयानक तनाव उत्पन्न भएको छ। फेब्रुअरी २८ बाट सुरु भएको यो सैन्य कारबाहीले क्षेत्रभरि ठूलो विनाश निम्त्याउनुका साथै विश्व अर्थतन्त्रमा गम्भीर धक्का पुर्‍याएको छ।

अमेरिका र इजरायलले इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा संयुक्त हवाई आक्रमण गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमाण्डर र ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको छ। यसको प्रतिशोधमा इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी र इजरायली सैन्य आधार शिविरहरूलाई लक्षित गरी शक्तिशाली मिसाइल र ड्रोन प्रहार गरेको छ।

युद्धका कारण हर्मुज जलसन्धि क्षेत्रमा तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ। यसले गर्दा अन्तर्राष्ट्रिय स्तरमै ग्यास र इन्धनको मूल्य वृद्धि भएको छ, जसको प्रत्यक्ष असर हवाई सेवा र ढुवानी कम्पनीहरूमा परेको छ। इरानमा सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ भने अमेरिकाका विभिन्न सहरहरूमा समेत यो युद्ध तत्काल अन्त्य गर्न माग गर्दै प्रदर्शनहरू भइरहेका छन्।