२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

इरानी विद्यालयमा भएको बमबारीको निष्पक्ष अनुसन्धान गर्न राष्ट्रसंघको आग्रह

इरानी विद्यालयमा भएको बमबारीको निष्पक्ष अनुसन्धान गर्न राष्ट्रसंघको आग्रह

जेनेभा– संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले इरानको एक प्राथमिक विद्यालयमा भएको भयानक बमबारीको तत्काल निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न अमेरिकासँग माग गरेका छन्। उनले यस आक्रमणबाट भएको क्षतिको न्याय हुनुपर्नेमा जोड दिएका हुन्।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६१औँ सत्रमा भिडियो सन्देश पठाउँदै टर्कले मिनाबस्थित ‘शजरेह तय्येबेह’ प्राथमिक विद्यालयमा भएको बमबारीले विश्वलाई नै त्रसित बनाएको बताए। “देशहरूबीच जस्तोसुकै मतभेद भए पनि विद्यालयका अबोध बालबालिकाहरूलाई मारेर समस्याको समाधान हुँदैन,” उनले भने। शोकमा डुबेका अभिभावक र भत्किएका कक्षाकोठाहरूले युद्धको वास्तविक र बीभत्स मूल्य कसले चुकाइरहेको छ भन्ने प्रष्ट पारेको उनको भनाइ छ।

इरानमा जारी युद्धका क्रममा पछिल्लो समय अमेरिकी र इजरायली आक्रमणहरू घना बस्ती भएका आवासीय क्षेत्र र नागरिक पूर्वाधारतर्फ सोझिएका छन्। टर्कले परमाणु सुविधाहरूलाई निशाना बनाउनु चरम लापरबाही भएको भन्दै मध्यपूर्व र खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव तत्काल रोक्न चेतावनी दिएका छन्। उनले युद्ध लम्बिँदै जाँदा नागरिकहरूको पीडा अझै बढ्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरे।