अमेरिकामा जन्मसिद्ध नागरिकता विवाद: ट्रम्पको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ
- १६ चैत्र २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- अमेरिकामा जन्मने बित्तिकै नागरिकता पाउने नियम खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयबारे बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। अवैधानिक वा अस्थायी रूपमा अमेरिकामा रहेका आप्रवासीका सन्तानलाई नागरिकता नदिने ट्रम्पको आदेशविरुद्ध अदालतमा मुद्दा परेको हो।
फ्लोरिडामा बस्दै आएकी एक अर्जेन्टिनी आमाले भर्खरै आफ्नो ७ महिनाको छोराको अमेरिकी राहदानी बनाएकी छन्। उनले आफ्नो नाम नखुलाउने सर्तमा ट्रम्पको यो नियमले आफू जस्ता धेरैलाई डराएको तर छोराले राहदानी पाउँदा भने ढुक्क भएको बताइन्। उनी सन् २०१६ मा विद्यार्थी भिसामा अमेरिका आएकी थिइन्।
ट्रम्प पक्षले अवैधानिक वा अस्थायी रूपमा बस्ने आप्रवासीहरू अमेरिकी कानुनको पूर्ण दायरामा नपर्ने भन्दै उनीहरूका छोराछोरीले जन्मसिद्ध नागरिकता पाउन नहुने तर्क गरेको छ। तर, अधिकारवादी संस्थाहरूले भने ट्रम्पले अमेरिकी नागरिकताको अर्थ नै बदल्न खोजेको आरोप लगाएका छन्। यो नियम लागु भएमा अमेरिकामा हरेक वर्ष जन्मने साढे दुई लाखभन्दा बढी बालबालिका प्रभावित हुनेछन्।