२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

होर्मुज नाका नखोले इरानलाई ध्वस्त पार्ने ट्रम्पको चेतावनी

होर्मुज नाका नखोले इरानलाई ध्वस्त पार्ने ट्रम्पको चेतावनी

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ राष्ट्रपतिले अमेरिकासँग युद्ध रोक्न माग गरेको दाबी गरे। बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले इरानका नयाँ राष्ट्रपति पहिलेका भन्दा चलाख भएको र युद्ध अन्त्य गर्न चाहेको बताए।

ट्रम्पले होर्मुज नाका पूर्ण रूपमा खुला र सुरक्षित भएपछि मात्रै युद्धविरामको प्रस्तावमा विचार गर्न सकिने सर्त राखे। यदि त्यसो नभए इरानलाई पूर्ण रूपमा ध्वस्त पारेर ढुंगे युगमा फर्काइदिने कडा चेतावनी उनले दिए।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यहाँका सर्वोच्च नेता आयातुल्लाह अली खामेनी मारिएका थिए। त्यसपछि मार्च ८ मा उनका छोरा मोजतबाले पद सम्हाले पनि उनी सार्वजनिक रूपमा बाहिर देखिएका छैनन्। ट्रम्पले त उनी जीवित छन् वा छैनन् भन्ने नै थाहा नभएको बताए।

इरानमा सन् २०२४ मा मसुद पेजेश्कियन राष्ट्रपति चुनिएका थिए। उनी हालै मात्र बाहिर देखिएका थिए। यता, इरानले भने युद्ध रोक्न आफूहरूले अमेरिकासँग वार्ता गरिरहेको भन्ने ट्रम्पको दाबीलाई सिधै अस्वीकार गरेको छ। मध्यस्थकर्तामार्फत अमेरिकासँग केही सन्देश मात्रै आदानप्रदान भएको इरानले प्रष्ट पारेको छ।