२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

इरानले कतारी इन्धन ट्याङ्करमा मिसाइल हान्यो

इरानले कतारी इन्धन ट्याङ्करमा मिसाइल हान्यो

न्युयोर्क- कतारको सरकारी ऊर्जा कम्पनीको एउटा तेल ट्याङ्करमा इरानले मिसाइल (क्षेप्यास्त्र) हानेको छ । कतारको रक्षा मन्त्रालयले इरानका तीनवटा क्रुज मिसाइलमध्ये दुईवटालाई सेनाले बाटोमै रोकेको र एउटा मिसाइल ट्याङ्करमा खसेको बताएको छ ।

बुधबार बिहान कतारको जलक्षेत्रमा भएको यो आक्रमणमा ‘एक्वा–१’ नामक ट्याङ्करमा सामान्य क्षति पुगेको छ । तर, त्यहाँ रहेका २१ जना चालक दलका सदस्यहरूलाई कुनै चोटपटक लागेको छैन । बेलायती सुरक्षा निकायका अनुसार जहाजमा दुईवटा वस्तुले हानेको थियो । एउटाले लाग्दा आगो बले पनि पछि निभाइएको थियो भने इन्जिन कोठामा पुगेको अर्को वस्तु पड्किएन । घटनाको अनुसन्धान भइरहेको छ ।

यता, इरानको रिभोलुसनरी गार्ड्सले भने उक्त जहाज इजरायलको भएको दाबी गर्दै आफूले आक्रमण गरेको स्वीकार गरेको छ ।

गत फेब्रुअरीदेखि अमेरिका र इजरायलले गरेको आक्रमणको बदला लिन इरानले खाडी देशका इन्धन केन्द्र र पानीजहाजहरूमा लगातार तारो बनाइरहेको छ । इरानको यस्तो आक्रमणले विश्वको करिब २० प्रतिशत तेल वारपार हुने हर्मुज नाका ठप्प जस्तै बनेको छ ।