२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

इरान युद्धमा साथ नपाएपछि नेटोसँग अमेरिका रुष्ट, गठबन्धन छोड्ने ट्रम्पको चेतावनी

इरान युद्धमा साथ नपाएपछि नेटोसँग अमेरिका रुष्ट, गठबन्धन छोड्ने ट्रम्पको चेतावनी

न्युयोर्क -अमेरिकाले सैन्य गठबन्धन नेटोसँगको आफ्नो सम्बन्धबारे फेरि विचार गर्ने बताएको छ । इरानविरुद्धको युद्धमा युरोपेली देशहरूले साथ नदिएपछि अमेरिका असन्तुष्ट बनेको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान युद्धमा युरोपेली संघले सहयोग गर्न अस्वीकार गरेको भन्दै असन्तुष्टि पोखे । उनले यो लडाइँ सकिएपछि नेटोसँगको सम्बन्ध र अमेरिकाका लागि यसको महत्वबारे समीक्षा गर्ने बताए । अमेरिकाले सधैँ युरोपको रक्षा गर्ने तर अमेरिकालाई आवश्यक पर्दा नेटोले आफ्ना अखडा समेत प्रयोग गर्न नदिने गुनासो उनले गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धमा सहभागी नभएको भन्दै नेटोलाई ‘कागजी बाघ’ को संज्ञा दिए । उनले गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी समेत दिए । यद्यपि, एउटा अन्तर्वार्तामा भने उनले ७६ वर्ष पुरानो यो गठबन्धन छोड्ने कुरा सोचभन्दा बाहिर रहेको पनि बताए । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत नेटो एउटा ‘कागजी बाघ’ मात्र हो भन्ने कुरा थाहा भएको दाबी गरे ।

यता, युरोपेली नेताहरूले भने नेटो एउटा रक्षात्मक गठबन्धन मात्र भएको भन्दै इरानसँगको युद्धमा होमिन अस्वीकार गर्दै आएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टारमरले बुधबार नेटोको बचाउ गरे । उनले नेटो विश्वकै सबैभन्दा प्रभावकारी सैन्य गठबन्धन भएको र यसले दशकौँदेखि सबैलाई सुरक्षित राखेको बताए ।