२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

कङ्गोमा एमपक्स महामारी अन्त्य भएको घोषणा

कङ्गोमा एमपक्स महामारी अन्त्य भएको घोषणा

न्युयोर्क- कङ्गोले वर्षौंसम्मको प्रयासपछि एमपक्स (मङ्कीपक्स) महामारी अन्त्य भएको घोषणा गरेको छ। बिहीबार आयोजित एक कार्यक्रमबीच सरकारले यसलाई राष्ट्रिय जनस्वास्थ्य आपतकालबाट हटाएको हो।

स्वास्थ्य मन्त्री रोजर काम्बाले विगतमा इबोला जस्ता स्वास्थ्य संकटबाट सिकेको पाठले यो सफलता मिलेको बताए। उनले देशले एकैपटक एमपक्स, हैजा र इबोलाको सामना गर्नु परेको बताउँदै रोग फेरि फैलिन नदिन निरन्तर निगरानी आवश्यक रहेकोमा जोड दिए।

सन् २०२४ को सुरुदेखि २०२६ को दोस्रो हप्तासम्म कङ्गोमा ८० हजारभन्दा बढीको नमुना परीक्षण गरिएको थियो। त्यसमध्ये ३४ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदा २ हजार २ सयभन्दा बढीको मृत्यु भएको थियो।

कङ्गोले सन् २०२२ डिसेम्बरमा एमपक्स प्रकोप घोषणा गरेको थियो। विश्व स्वास्थ्य संगठनले पनि सन् २०२४ मा यसलाई विश्वव्यापी आपतकाल घोषणा गरेर सन् २०२५ मा अफ्रिकाका लागि यो दर्जा हटाएको थियो।

पहिले मङ्कीपक्स भनिने यो भाइरस सन् १९५८ मा पहिलो पटक बाँदरमा फेला परेको थियो। संक्रमितको तरल पदार्थ र श्वासप्रश्वासबाट सर्ने यो रोग लाग्दा ज्वरो आउने र शरीरमा दाग देखिने जस्ता लक्षण देखा पर्छन्।