सुडानको खार्तूममा तीन वर्षपछि राष्ट्रसंघको कार्यालय खुल्यो
- २० चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्रसंघले झन्डै तीन वर्षदेखि बन्द रहेको सुडानको खार्तूमस्थित आफ्नो मुख्यालय बिहीबारदेखि फेरि सञ्चालनमा ल्याएको छ। यससँगै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको काम पनि सुरु भएको छ। द्वन्द्वका कारण रोकिएका कामहरू अब बिस्तारै अघि बढ्नेछन्।
कार्यालय खोल्ने कार्यक्रममा सुडानका विदेशमन्त्री मोहि एल–दिन सलेम र राष्ट्रसंघका अधिकारीहरू सहभागी थिए। विदेशमन्त्री सलेमले कार्यालय खुल्नुले सुडान र राष्ट्रसंघबीचको सहयोग फेरि सुरु भएको बताए। उनले यसलाई देशको स्थिरताका लागि एउटा सकारात्मक संकेत भएको उल्लेख गरे।
यस्तै, विकास कार्यक्रमका सह-प्रशासक झु हाओलियाङले राष्ट्रसंघका निकायहरू खार्तूम फर्कनु सुडानका लागि महत्त्वपूर्ण सहयोग भएको बताए। उनले मानवीय सहायता, स्थानीय समुदायको क्षमता विकास र पुनर्निर्माणमा सहयोग गर्ने जानकारी दिए।
अहिले सुडान ठूलो मानवीय संकटमा छ। युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन् भने स्वास्थ्य, शिक्षा र खाद्यान्नको समस्या बढ्दो छ। राष्ट्रसंघका अनुसार सन् २०२६ मा सुडानका करिब ३ करोड ३७ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता पर्नेछ, जुन गत वर्षको भन्दा ३३ लाखले बढी हो।