२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

इरानलाई ट्रम्पको ४८ घण्टे चेतावनी: जलसन्धि नखोले ‘नर्कको वर्षा’ गराउने

इरानलाई ट्रम्पको ४८ घण्टे चेतावनी: जलसन्धि नखोले ‘नर्कको वर्षा’ गराउने

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ सम्झौता गर्न वा हर्मुज जलसन्धि खुलाउन ४८ घण्टाको अन्तिम समय दिएका छन्। तोकिएको समयभित्र आफ्नो माग पूरा नभए इरानमाथि ‘नर्कको वर्षा’ गराउने अर्थात् कडा आक्रमण गर्ने चेतावनी उनले दिएका छन्।

आफ्नो सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरानलाई यसअघि दिएको १० दिनको समय सकिन लागेको बताए। उनले अबको ४८ घण्टापछि इरानले ठूलो आक्रमणको सामना गर्नुपर्ने उल्लेख गरे। साथै, उनले परमाणु हतियार भएको इरानबाट अब छुटकारा पाउने दाबी पनि गरेका छन्।

जलसन्धि खुलाउन ट्रम्पले इरानलाई पटक-पटक चेतावनी दिँदै आएका छन्। यसअघि उनले इरानका ठूला ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने धम्की दिएका थिए। तर दुई देशबीच कुराकानी भएको र इरानले नै आग्रह गरेको भन्दै उनले आक्रमण गर्ने योजना केही दिनका लागि सारेका थिए। अप्रिल ६ सम्मका लागि दिइएको उक्त १० दिने म्याद सकिन लाग्दा ट्रम्पले फेरि कडा चेतावनी दिएका हुन्।