२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

चन्द्रमा जाँदै गरेका अन्तरिक्षयात्री आधा बाटो पार, अपोलो १३ को रेकर्ड तोड्ने लक्ष्य

चन्द्रमा जाँदै गरेका अन्तरिक्षयात्री आधा बाटो पार, अपोलो १३ को रेकर्ड तोड्ने लक्ष्य

न्युयोर्क- नासाको ‘आर्टेमिस-२’ मिसनअन्तर्गत चन्द्रमातर्फ गइरहेका चार जना अन्तरिक्षयात्री आधाभन्दा बढी बाटो पार गरिसकेका छन्। उनीहरूले सन् १९७० मा अपोलो १३ ले बनाएको पृथ्वीबाट सबैभन्दा टाढा पुगेको रेकर्ड तोड्ने तयारी गरेका छन्।

यो टोलीमा तीन जना अमेरिकी र एक जना क्यानेडियन नागरिक छन्। उनीहरू सोमबार चन्द्रमाको नजिक पुग्नेछन्। त्यहाँ उनीहरूले चन्द्रमाको पछाडिको भागको फन्को मार्दै रहस्यमय ठाउँहरूको तस्बिर खिच्नेछन्। ५३ वर्षपछि पहिलो पटक मानिस चन्द्रमातर्फ गएका हुन्।

अन्तरिक्षयात्रीहरू पृथ्वीबाट ४ लाख किलोमिटर (२ लाख ५२ हजार माइल) टाढा पुग्नेछन्। त्यहाँबाट चन्द्रमाको पछाडि घुमेर उनीहरू कतै नरोकिई सिधै पृथ्वी फर्किनेछन्। यो मिसनमा क्यानडाका जेरेमी ह्यान्सेन पनि सहभागी भएकाले क्यानडाले खुसी मनाएको छ। उनी चन्द्रमा जाने पहिलो गैर-अमेरिकी नागरिक हुन्।

क्यानडाको अन्तरिक्ष एजेन्सीकी अध्यक्ष लिसा क्याम्पबेलले ह्यान्सेनले इतिहास रचेको बताइन्। अन्तरिक्षयात्री ह्यान्सेनले पनि यानबाट देखिएका दृश्यहरू एकदमै अद्भुत रहेको बताए।

यो टोलीमा रहेका क्रिस्टिना कोच र भिक्टर ग्लोभर चन्द्रमा जाने क्रमशः पहिलो महिला र पहिलो अश्वेत व्यक्ति हुन्। झन्डै १० दिन लामो यो मिसन पूरा गरेर उनीहरू अप्रिल १० मा प्रशान्त महासागरमा ओर्लिनेछन्। सन् २०२८ भित्र मानिसलाई चन्द्रमामा ओराल्ने र त्यहाँ बस्ती बसाउने नासाको योजनाअन्तर्गत यो मिसन गरिएको हो।