इस्तानबुलमा इजरायली दूतावास नजिकै आक्रमण: एक आक्रमणकारीको मृत्यु, ४ घाइते
- २५ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- टर्कीको इस्तानबुलस्थित बेसिकटास क्षेत्रमा रहेको इजरायली महावाणिज्य दूतावास नजिकै मंगलबार आक्रमण भएको छ। उक्त घटनामा एक जना आक्रमणकारीको मृत्यु भएको छ भने दुई प्रहरी र दुई आक्रमणकारी गरी चार जना घाइते भएका छन्।
इस्तानबुलका गभर्नर दाभुत गुलले सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी आक्रमण भएको बताए। गोली हानाहानमा प्रहरीहरू सामान्य घाइते भएको उनले जानकारी दिए। गभर्नरको कार्यालयका अनुसार घटना मंगलबार दिउँसो सवा १२ बजेतिर सुरु भएको थियो।
प्रहरीले घाइते भएका दुई जना आक्रमणकारीलाई पक्राउ गरिसकेको छ। टर्कीका न्यायमन्त्री अकिन गुर्लेकले यस घटनाको बारेमा विस्तृत अनुसन्धान सुरु गरिएको बताएका छन्।