२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

ममदानीले भने– ‘प्रहरी मेरो नियन्त्रणमा छ, आवश्यक परे कमिसनरको निर्णय पनि उल्ट्याइदिन्छु’

ममदानीले भने– ‘प्रहरी मेरो नियन्त्रणमा छ, आवश्यक परे कमिसनरको निर्णय पनि उल्ट्याइदिन्छु’

न्यूयोर्क – न्यूयोर्कका मेयर जोहरान ममदानीले न्यूयोर्क प्रहरी विभाग (NYPD) मा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्। द न्यूयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले प्रहरी प्रशासनमा कुनै नीतिगत विवाद भएमा आफूले प्रहरी कमिसनर जेसिका टिसको निर्णयलाई समेत उल्ट्याउन सक्ने बताएका हुन्।

मेयर ममदानीले भनेका छन्, “अन्तिम निर्णय गर्ने अधिकार मेरै हो, चाहे त्यो जुनसुकै विभाग वा निकाय किन नहोस्।” उनले आफू र कमिसनर टिसबीच कुनै विषयमा सहमति हुन नसकेमा आफूले चाहेको परिवर्तन लागू गर्ने स्पष्ट पारेका छन्।

लोकतान्त्रिक समाजवादी विचारधाराका ममदानी मेयर भएपछि प्रहरी प्रशासनसँग उनको सम्बन्धलाई लिएर निकै चासोका साथ हेरिएको छ। उनले विवादित ‘स्ट्राटेजिक रेस्पोन्स ग्रुप’ (SRG) लाई खारेज गर्ने र मानसिक स्वास्थ्यसम्बन्धी समस्याका लागि प्रहरीको सट्टा स्वास्थ्य टोली परिचालन गर्ने प्रस्ताव अघि सारेका छन्। यद्यपि, कमिसनर टिसले भने कतिपय अवस्थामा प्रहरीकै उपस्थिति अनिवार्य हुने धारणा राख्दै आएकी छन्।

मेयरको यो कडा भनाइले प्रहरी नेतृत्व र सिटी हलबीच शक्ति सन्तुलनको विषयमा नयाँ बहस सिर्जना गरिदिएको छ। प्रहरी सुधारका आफ्ना एजेन्डाहरू कार्यान्वयन गर्न ममदानीले प्रशासनमा आफ्नो कडा पकड रहने सन्देश दिएका हुन्।