भाग्दै गरेका व्यक्तिलाई कुलरले हानेर मार्ने अमेरिकी पूर्वप्रहरी जेल चलान
- २७ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको न्युयोर्कमा भाग्दै गरेका एक व्यक्तिलाई कुलर (पेय पदार्थ राख्ने भाँडो) ले हानेर मार्ने पूर्वप्रहरी अधिकारीलाई ३ देखि ९ वर्षसम्मको जेल सजाय सुनाइएको छ। सन् २०२३ मा एरिक डुरान नामका ती प्रहरीले स्कुटरमा भाग्दै गरेका ३० वर्षीय एरिक डुप्रिलाई कुलरले हानेका थिए।
प्रहरीको कारबाहीबाट बच्न स्कुटरमा भाग्दै गर्दा डुरानले डुप्रिलाई रोक्न उक्त कुलर फ्याँकेका थिए। कुलरले लागेर नियन्त्रण गुमाएका डुप्रि रुखमा ठोक्किएर सडकमा लडेका थिए। टाउकोमा गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको थियो।
गत फेब्रुअरीमा अदालतले डुरानलाई दोषी ठहर गरेको थियो। बिहीबार अदालतमा बोल्दै डुरानले आफूले यस्तो होस् भन्ने नचाहेको बताए। उनले आफ्ना साथीहरूलाई जोगाउन हतारमा कुलर फ्याँकेको दाबी गरे पनि न्यायाधीशले त्यसलाई अस्वीकार गरे।
मृतक डुप्रि सामान पुर्याउने काम गर्थे र उनका तीन सन्तान छन्। उनकी आमा ग्रेचेन सोटोले अदालतमा रुँदै यो घटना निकै अन्यायपूर्ण भएको बताइन्। उनले प्रहरीको आरोपको खण्डन गर्दै आफ्नो छोराले लागुऔषध नबेचेको दाबी गरिन्।