२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इस्तानबुल आक्रमणपछि टर्कीमा आईएसका १९८ शंकास्पद व्यक्ति जेल चलान

इस्तानबुल आक्रमणपछि टर्कीमा आईएसका १९८ शंकास्पद व्यक्ति जेल चलान

न्युयोर्क- इस्तानबुलको प्रहरी जाँचचौकीमा भएको सशस्त्र आक्रमणपछि टर्कीले देशभर कारबाही चलाएर इस्लामिक स्टेट (आईएस) का १९८ शंकास्पद व्यक्तिलाई जेल पठाएको छ।

न्यायमन्त्री अकिन गुर्लेकले देशका ३४ वटा प्रान्तमा छापा मारेर २७३ जनामाथि कानुनी कारबाही सुरु गरेको बताए। तीमध्ये १९८ जनालाई अदालतले पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो।

मंगलबार इस्तानबुलस्थित इजरायली वाणिज्य दूतावास नजिकै तीन जनाले प्रहरीमाथि गोली चलाएका थिए। उक्त भिडन्तमा एक आक्रमणकारी मारिए भने दुई प्रहरी र अन्य दुई आक्रमणकारी घाइते भए।

देशभित्र र सीमा क्षेत्रको सुरक्षा कडा बनाउन यो अभियान चलाएको न्यायमन्त्री गुर्लेकले बताए। टर्कीले सन् २०१३ मै आईएसलाई आतंकवादी संगठन घोषणा गरेको थियो। त्यसयता टर्कीमा यस समूहबाट धेरै घातक आक्रमणहरू भएका छन्।