इरान-अमेरिका वार्ता: इस्लामाबादमा प्रधानमन्त्री शरिफसँग उच्चस्तरीय भेटघाट
- २८ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- इरान र अमेरिकाबीचको ऐतिहासिक वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबादमा सघन कुटनीतिक दौडधुप सुरु भएको छ। वार्ताको सिलसिलामा पाकिस्तान पुगेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शनिबार प्रधानमन्त्री शहबाज शरिफसँग भेट गरे।
प्रधानमन्त्री कार्यालयका अनुसार शरिफले यो वार्ता यस क्षेत्रमा दीर्घकालीन शान्ति स्थापनाका लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने आशा व्यक्त गरेका छन्। भान्ससँगै राष्ट्रपति ट्रम्पका विशेषदूत स्टीभ विट्कफ र ज्वाइँ ज्यारेड कूश्नर पनि सहभागी थिए। अमेरिकी टोली आउनुअघि इरानी प्रतिनिधिमण्डलले पनि प्रधानमन्त्री शरिफसँग छुट्टै भेटवार्ता गरेको थियो।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक दुई देशबीच यसरी उच्चस्तरीय वार्ता हुन लागेको हो। इरानी टोलीका नेता मोहम्मद बाकर कलिबाफले वासिङ्टनले सही प्रस्ताव ल्याए र इरानको अधिकार सुरक्षित गरे आफूहरू सम्झौताका लागि तयार रहेको बताएका छन्। यद्यपि, उनले अमेरिकाप्रति अझै पूर्ण विश्वास नभएको उल्लेख गरे। अर्कोतर्फ, अमेरिकी उपराष्ट्रपति भान्सले इरानलाई अमेरिकासँग खेलबाड नगर्न कडा चेतावनी दिएका छन्।
दुई हप्ताको युद्धविराम र यो मध्यस्थता सफल पारेको खुसीयालीमा पाकिस्तानले दुई दिने सार्वजनिक बिदा नै घोषणा गरेको छ। इस्लामाबादका सडकमा दुवै देशका झन्डासहितका डिजिटल बोर्डहरू राखिएका छन्। सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।
यो वार्ता सफल भएमा विश्व बजारका लागि महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ पुनः खुल्ने र छ हप्ता लामो युद्ध अन्त्य हुने विश्वास गरिएको छ। तर, इरानी पक्षले आफ्ना सर्तहरू नमानिए वार्ता जुनसुकै बेला रद्द हुन सक्ने सङ्केत पनि दिएको छ।