२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

चन्द्रमाको यात्रा सकेर नासाका अन्तरिक्ष यात्री पृथ्वी फर्किए

चन्द्रमाको यात्रा सकेर नासाका अन्तरिक्ष यात्री पृथ्वी फर्किए

न्युयोर्क- ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो मानवसहितको मिसन ‘आर्टिमिस २’ सफलतापूर्वक सम्पन्न भएको छ। नासाका चार अन्तरिक्ष यात्री बोकेको ओरायन क्याप्सुल शुक्रबार क्यालिफोर्निया नजिकैको प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यास डाउन) गरेको हो।

१० दिने लामो ऐतिहासिक यात्रा पूरा गरी फर्कने यात्रीहरूमा कमान्डर रीड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यान्सेन छन्। यो मिसनसँगै भिक्टर चन्द्रमामा पुग्ने पहिलो अश्वेत व्यक्ति, क्रिस्टिना पहिलो महिला र जेरेमी पहिलो गैर-अमेरिकी नागरिक बनेका छन्।

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ओरायन क्याप्सुलको बाहिरी तापक्रम करिब २,७६० डिग्री सेल्सियस पुगेको थियो। अत्यधिक गर्मीका कारण केही समयका लागि सञ्चार सम्पर्क विच्छेद भए पनि प्यारासुटको सहायताले क्याप्सुल समुद्रमा सहजै ओर्लिएको थियो।

यो सफलताले भविष्यमा मानवलाई पुन: चन्द्रमाको सतहमा उतार्ने नासाको लक्ष्यका लागि बाटो खोलेको छ। नासाका प्रमुख जेरेड आइज्याकम्यानले अब चन्द्रमामा मानिस पठाउने र सुरक्षित फर्काउने ढोका पूर्ण रूपमा खुलेको बताएका छन्। चन्द्रमाबाट फर्कने क्रममा कमान्डर वाइजम्यानले अन्तरिक्षबाट पृथ्वी निकै सुन्दर देखिएको र यसको संरक्षण गर्नुपर्ने सन्देश दिएका थिए।