न्युयोर्कका पूर्व मेयर एरिक एडम्सले पाए अल्बानियाको मानार्थ नागरिकता
- २८ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्क सिटीका पूर्व मेयर एरिक एडम्सले अल्बानियाको मानार्थ नागरिकता प्राप्त गरेका छन्। राजनीतिबाट सन्यास लिएर विदेशमा बस्ने आफ्नो सपनाको नजिक पुग्दै एडम्सले आफ्नै अनुरोधमा यो नागरिकता लिएका हुन्।
अल्बानियाका राष्ट्रपति बजराम बेगाजले एडम्सलाई नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका छन्। एडम्सका प्रवक्ता टोड शापिरोले उनी अल्बानियाली-अमेरिकी समुदायको लामो समयदेखिको मित्र भएको र यो सम्मानले न्युयोर्क र अल्बानियाबीचको सम्बन्ध थप मजबुत हुने बताए।
आफूलाई ‘अन्तर्राष्ट्रिय मेयर’ भन्न रुचाउने एडम्सको अल्बानियासँग पुरानो सम्बन्ध छ। उनका छोरा केही समय अल्बानियामा बसेका थिए भने एडम्स आफैँले पनि आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा त्यहाँको भ्रमण गरेका थिए। सो भ्रमणको खर्च अल्बानिया सरकारले नै बेहोरेको थियो।
मेयर हुँदा एडम्समाथि टर्कीबाट अनुचित फाइदा लिएको आरोपमा संघीय मुद्दा लागेको थियो, जसलाई पछि ट्रम्प प्रशासनले खारेज गरिदिएको थियो। उनले यसअघि अजरबैजानको बाकु वा इजरायलको गोलान हाइट्समा बस्ने इच्छा समेत व्यक्त गरेका थिए। हालैका दिनमा उनी दुबई र कंगोमा पनि देखिएका छन्। उनले हालै ‘क्रिप्टोकरेन्सी’ व्यवसायमा समेत हात हालेका थिए, जसले ठूलो आर्थिक घाटा बेहोरेको बताइएको छ।