२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अमेरिकाद्वारा इरानका बन्दरगाहमा नाकाबन्दी, जहाज नष्ट गरिदिने ट्रम्पको चेतावनी

अमेरिकाद्वारा इरानका बन्दरगाहमा नाकाबन्दी, जहाज नष्ट गरिदिने ट्रम्पको चेतावनी

न्युयोर्क- अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी सुरु गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान १० बजेदेखि यो नाकाबन्दी लागु भएको बताएका छन्। उनले इरान सम्झौताका लागि हतारिएको दाबी गर्दै नाकाबन्दी क्षेत्र नजिक आउने कुनै पनि इरानी जहाजलाई खत्तम पारिदिने चेतावनी दिएका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले होर्मुज जलमार्ग बन्द गरेर इरानले ‘आर्थिक आतंकवाद’ फैलाएको आरोप लगाएका छन्। इरानले यस्तो गरिरहे अमेरिकाले पनि कुनै इरानी जहाज बाहिर निस्कन नदिने उनले स्पष्ट पारे। गत हप्ताको वार्तामा प्रगति भएको बताउँदै भान्सले अब सम्झौता गर्ने जिम्मा इरानकै हातमा रहेको बताए। अमेरिकाले इरानको युरेनियममाथि आफ्नो नियन्त्रण र परमाणु हतियार नबनाउने पक्का ग्यारेन्टी हुनुपर्ने माग राखेको छ।

अमेरिकाको यो कदमप्रति इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। तर, इरानी संसदका सभामुखले कुनै पनि धम्कीसामु नझुक्ने बताएका छन्। यसैबीच, इरानको सेना ‘इस्लामिक रिभोलुसनरी गार्ड’ ले आफूसँग अझै धेरै गोप्य सैन्य क्षमता बाँकी रहेको र फेरि युद्ध भए शत्रुले कल्पनासमेत नगरेको तागत देखाउने चेतावनी दिएको छ।