टेक्सासस्थित आप्रवासी शिविर बनाउँदा मजदुरको मृत्यु: ट्रम्पका सहयोगीसहित ३ कम्पनीलाई कारबाही
- ०१ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको टेक्सासस्थित एल पासोमा आप्रवासी राख्ने ठूलो शिविर बनाउने क्रममा एक मजदुरको ज्यान गएको घटनामा तीनवटा ठेकेदार कम्पनी कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावमा चन्दा दिने व्यक्तिको कम्पनी पनि छ।
गत वर्षको जुलाई २१ मा ‘क्याम्प इस्ट मोन्टाना’ निर्माण गर्दा माथिबाट खसेको सामानले किचेर ३८ वर्षका हेक्टर गोन्जालेजको मृत्यु भएको थियो। यस घटनाको अनुसन्धान गर्दै अमेरिकी सरकारी निकायले सुरक्षा नियम पालना नगरेको भन्दै तीनवटा सहायक कम्पनीलाई दोषी देखाएको हो। सोमबार ‘पब्लिक सिटिजन’ नामक संस्थाले निकालेको प्रतिवेदनमा यो कुरा उल्लेख छ।
सेनाले १.३ अर्ब डलरको ठेक्का ‘एक्विजिसन लजिस्टिक’ नामक कम्पनीलाई दिएको केही दिनमै गोन्जालेजको मृत्यु भएको थियो। तर अनुसन्धानमा उक्त मुख्य कम्पनीलाई भने कारबाही गरिएको छैन। यो शिविरमा ३ हजारभन्दा बढी आप्रवासीलाई राखिएको थियो। त्यहाँको अवस्था अत्यन्तै खराब भएको र तीन जना बन्दीको ज्यान समेत गएपछि सरकारले अहिले उक्त मुख्य कम्पनीलाई हटाएर अर्को कम्पनीलाई जिम्मा दिएको छ।
कारबाहीमा पर्ने कम्पनीहरुमा ‘बेस इन्टरनेसनल’, ‘जेएमजे प्रोडक्सन सर्भिसेज’ र ‘फुलफिलमेन्ट पर्सनेल सर्भिसेज’ छन्। फोर्कलिफ्ट जस्ता मेसिन चलाउँदा सुरक्षा नअपनाएको उनीहरुमाथि आरोप छ। तीमध्ये जेएमजे र फुलफिलमेन्टले गल्ती स्वीकार्दै १५-१५ हजार डलर जरिवाना तिर्न सहमति जनाएका छन्।
तर, गोन्जालेजलाई काममा लगाउने ‘बेस इन्टरनेसनल’ ले भने साढे ११ हजार डलर जरिवाना तिर्न मानेको छैन। कम्पनीले कुनै गल्ती नगरेको भन्दै यो निर्णयविरुद्ध अपिल गर्ने बताएको छ। यो कम्पनी ट्रम्पका नजिकका सहयोगी तथा रिपब्लिकन पार्टीका ठूला चन्दादाता नेथन अल्बर्सको हो।