२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

न्यु जर्सीमा रेल दुर्घटना: १३ डिब्बा ट्रयाक बाहिर

न्यु जर्सीमा रेल दुर्घटना: १३ डिब्बा ट्रयाक बाहिर

न्युयोर्क- अमेरिकाको न्यु जर्सीमा एउटा मालबाहक रेल दुर्घटना भएको छ। नर्थ बर्गनको टोनेल एभिन्यु नजिकै दिउँसो ३ बजेतिर रेलका डिब्बाहरू ट्रयाकबाट बाहिर निस्किएका हुन्।

घटनामा १३ वटा डिब्बा दुर्घटनामा परेका छन्, जसमध्ये सातवटा पल्टिएका छन्। रेल कम्पनी सीएसएक्स (CSX) ले अहिलेसम्म कोही पनि घाइते नभएको जानकारी दिएको छ। अहिले घटनास्थलमा उद्धार टोलीहरूले काम गरिरहेका छन्।

नर्थ बर्गनका मेयर निक साकोले रेलबाट ‘इथाइल एसिटेट’ नामक रसायन चुहिएको बताए। उनले रसायनलाई पानीले पखालेर सुरक्षित बनाउने काम भइरहेको जानकारी दिए। तर रेल कम्पनीले भने कुनै पनि रसायन नचुहिएको दाबी गरेको छ। यो रसायन ग्लु र नेल पोलिस रिमुभर बनाउन प्रयोग गरिन्छ।

दुर्घटनाका कारण टोनेल एभिन्यु नजिकैको रुट ३ बन्द गरिएको छ। रेल किन दुर्घटना भयो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ। मेयरले सर्वसाधारणका लागि कुनै खतरा नरहेको बताएका छन्।