अमेरिकामा पक्राउ परेकी ८६ वर्षीया वृद्धालाई छाड्न फ्रान्सको आग्रह
- ०३ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- फ्रान्स सरकारले अमेरिकामा पक्राउ परेकी आफ्नी ८६ वर्षीया नागरिकलाई रिहा गर्न माग गरेको छ। अमेरिकी सेनाका पूर्व अधिकारीकी श्रीमती रहेकी ती वृद्धालाई अमेरिकी अध्यागमन अधिकारीहरूले यसै महिनाको सुरुमा पक्राउ गरेका थिए।
९० दिने भिसा (प्रवेशाज्ञा) को म्याद सकिएपछि पनि अमेरिका बसेको भन्दै मेरी-थेरेसा रसलाई अप्रिल १ मा अलाबामा राज्यबाट पक्राउ गरिएको हो। अहिले उनलाई लुजियानाको एक बन्दीगृहमा राखिएको छ।
डोनाल्ड ट्रम्प प्रशासनको ठूलो देशनिकाला अभियानअन्तर्गत उनी पक्राउ परेकी हुन्। न्यु अर्लिन्सका लागि फ्रान्सेली महावाणिज्यदूत रोडोल्फ साम्बुले वृद्धाको उमेरलाई ध्यानमा राख्दै उनलाई छिटोभन्दा छिटो जेलमुक्त गर्न फ्रान्स सरकारले पूर्ण रूपमा पहल गरिरहेको बताएका छन्। उनले बन्दीगृहमा ती वृद्धालाई दुई पटक भेटिसकेका छन्।
मेरीले गत वर्षको अप्रिलमा अलाबामाका बासिन्दा विलियम रससँग विवाह गरेकी थिइन्। अमेरिकी सेनाका पूर्व क्याप्टेन रहेका विलियमको गत जनवरीमा मृत्यु भएको थियो।