फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ बन्दीगृहमा सुरक्षाकर्मीद्वारा बन्दीमाथि कुटपिट
- ०३ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको फ्लोरिडास्थित ‘एलिगेटर अल्काट्राज’ भनेर चिनिने अध्यागमन बन्दीगृहमा सुरक्षाकर्मीले बन्दीहरूलाई नराम्ररी कुटपिट गर्दै पेप्पर स्प्रे प्रहार गरेका छन्। दुई जना बन्दीकी वकिलले अदालतमा यस्तो दाबी गरेकी हुन्।
वकिल क्याथरिन ब्लान्केनसिपका अनुसार, अप्रिल २ मा फोन बिग्रिएको गुनासो गर्दा सुरक्षाकर्मीहरूले बन्दीहरूमाथि आक्रमण गरेका थिए। फोन नै बन्दीहरूले आफ्नो परिवार र वकिलसँग कुरा गर्ने मुख्य माध्यम थियो। गुनासो गरेपछि रिसाएका सुरक्षाकर्मीले बन्दीहरूलाई जिस्काउँदै कुटपिट सुरु गरेका थिए।
सुरक्षाकर्मीले एक जनाको अनुहारमा मुक्का हानेका थिए। वकिल क्याथरिनका एक क्लाइन्टलाई भुइँमा लडाएर धेरै जना मिलेर कुटेका थिए र घाँटीमा घुँडाले थिचेका थिए। कुटपिटबाट अर्का एक बन्दीको नाडी नै भाँचिएको छ। घटनाको भोलिपल्ट भने बिना कुनै कारण खुलाएर फोन सेवा सुचारु गरिएको थियो।
फ्लोरिडाको आपतकालीन व्यवस्थापन विभागले यस घटनाबारे सोधिएका प्रश्नको कुनै जवाफ दिएको छैन। यसअघि अदालतले बन्दीहरूलाई वकिलसँग फोनमा कुरा गर्न दिन र हरेक २५ जनाका लागि एउटा फोनको व्यवस्था गर्न आदेश दिएको थियो। तर सरकारी अधिकारीहरूले भने आफूहरूले बन्दीलाई वकिलसँग कुरा गर्न नरोकेको दाबी गर्दै आएका छन्।
यो बन्दीगृह राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन नीतिलाई सघाउन फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले गत वर्ष निर्माण गरेका हुन्। गत हप्ता त्यहाँ पुगेकी सांसद डेब्बी वासरम्यान सुल्जले आफूलाई बन्दीहरूसँग भेट्न नदिइएको बताउँदै त्यहाँको अवस्था क्रूर र अमानवीय रहेको बताइन्।