इजरायल र लेबनानबीच १० दिने युद्धविराम, ट्रम्पले दुवै देशका नेतालाई ह्वाइट हाउसमा भेट्ने
- ०४ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच १० दिने युद्धविरामको घोषणा गरेका छन्। यससँगै उनले आगामी एक वा दुई हप्ताभित्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानी राष्ट्रपति जोसेफ आउनलाई ह्वाइट हाउसमा भेट्ने बताएका छन्। ४४ वर्षपछि पहिलो पटक हुन लागेको यस्तो भेटलाई उनले अत्यन्तै उत्साहजनक र ऐतिहासिक कदम भनेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी युद्धविरामको जानकारी दिएका हुन्। यो सम्झौताले हिजबुल्लाहको समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे। अमेरिकी विदेश मन्त्रालयका अनुसार, युद्धविरामको समयमा इजरायलले लेबनानमाथि हवाई, जल वा स्थल कुनै पनि बाटोबाट आक्रमण गर्ने छैन, तर आफ्नो रक्षाका लागि आवश्यक कदम चाल्ने अधिकार भने सुरक्षित राखेको छ।
त्यस्तै, लेबनान सरकारले पनि यो समयमा हिजबुल्लाह लगायतका सशस्त्र समूहलाई आक्रमण गर्नबाट रोक्न ठोस कदम चाल्नेछ। दुवै देश युद्धविरामका सर्तहरूमा पूर्ण रूपमा सहमत भएका छन्। वार्ता सकारात्मक भएमा यो युद्धविराम आपसी सहमतिमा अझै लम्बिन पनि सक्नेछ। यद्यपि, इजरायली प्रधानमन्त्री नेतान्याहुले युद्धविरामको समयमा आफ्ना सेना लेबनानमा अहिले भएकै ठाउँबाट भने पछि नहट्ने स्पष्ट पारेका छन्।