२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

आइसको हतारको भर्नामा शंकास्पद पृष्ठभूमि भएका व्यक्तिहरू छानिए

आइसको हतारको भर्नामा शंकास्पद पृष्ठभूमि भएका व्यक्तिहरू छानिए

न्युयोर्क- अमेरिकी अध्यागमन तथा भन्सार एजेन्सी (आइस) ले हतारमा हजारौं नयाँ कर्मचारी भर्ना गर्दा खराब र शंकास्पद पृष्ठभूमिका व्यक्तिहरू छनोट भएका छन्। व्यापक देशनिकाला अभियान चलाउन कंग्रेसबाट ठूलो बजेट पाएपछि आइसले १२ हजार नयाँ कर्मचारी थप्दैछ। तर छिटो काम गर्ने दबाबका कारण उम्मेदवारको पृष्ठभूमि राम्ररी जाँच गरिएको छैन।

समाचार संस्थाको खोज अनुसार, हालै भर्ना भएका केही कर्मचारीहरूको विगत निकै विवादित छ। कोही तीन वर्षभित्रै छ पटक जागिर छोडेका छन् भने कोही टाट पल्टेका व्यक्तिहरू छन्। एक जना कर्मचारीमाथि त झुटो प्रतिवेदन बनाएर निर्दोष महिलालाई पक्राउ गरेको आरोप समेत छ, जसका कारण उनको पुरानो कार्यालयले ठूलो रकम क्षतिपूर्ति तिर्नुपरेको थियो। त्यस्तै, अर्का एक व्यक्ति प्रहरी तालिममा नै असफल भएका थिए र एउटा जागिरमा जम्मा तीन हप्ता मात्र टिकेका थिए।

पूर्व अधिकारीहरूले हतारको भर्नाले शक्तिको दुरुपयोग र गल्ती हुने जोखिम बढाउने बताए। एजेन्सीले भने कर्मचारीको पृष्ठभूमि जाँच गर्ने काम निरन्तर चलिरहने जनाएको छ। तर आलोचक र पूर्व प्रशिक्षकहरूले नयाँ कर्मचारीहरूलाई पर्याप्त तालिम समेत नदिइएको दाबी गरेका छन्।