२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अध्यागमन हिरासतमा रहेकी ५ बच्चाकी आमालाई उपचारबाट बञ्चित, रिहाइको माग

अध्यागमन हिरासतमा रहेकी ५ बच्चाकी आमालाई उपचारबाट बञ्चित, रिहाइको माग

न्युयोर्क- अमेरिकाको टेक्सासस्थित एक अध्यागमन हिरासतमा रहेकी पाँच सन्तानकी आमालाई उपचार नदिइएको घटना सार्वजनिक भएको छ। छातीमा असामान्य गाँठो देखिएपछि उनले हप्तौंसम्म सीटी स्क्यान गर्न माग गरेकी थिइन्। तर, अधिकारीहरूले बेवास्ता गरेपछि अत्यधिक दुखाइका कारण उनलाई अस्पतालको आकस्मिक कक्षमा लगिएको छ।

ती महिलाको नाम हेमान एल गमाल हो। उनका वकिल एरिक लीका अनुसार, डिल्ली हिरासत केन्द्रका अधिकारीहरूले सुरुमा उनलाई सीटी स्क्यान गर्न दिएनन्। पछि अस्पताल लगेर जाँच गर्दा उनको मुटुको वरिपरि पानी जमेको पाइयो। अस्पतालका डाक्टरले भिडियो एक्स–रे गर्न सल्लाह दिए पनि अध्यागमन अधिकारी र केन्द्र चलाउने कम्पनीले त्यसलाई अस्वीकार गरे। उनलाई दुखाइ कम गर्ने सामान्य औषधि मात्र दिइएको थियो।

वकिल लीले तीन जना स्वतन्त्र डाक्टरलाई हेमानको स्वास्थ्य विवरण देखाएका थिए। ती डाक्टरहरूले उनलाई क्यान्सर वा मुटुको गम्भीर रोग हुन सक्ने भन्दै हिरासत केन्द्रले उनको ज्यान जोखिममा पारेको बताए। अहिले वकिल लीले हेमान र उनका बच्चाहरूलाई हिरासतमुक्त गर्न अदालतमा अपिल गरेका छन्।

हेमान र उनका ५ देखि १८ वर्षसम्मका बच्चाहरूलाई गत जुनदेखि हिरासतमा राखिएको छ। उनका पूर्व श्रीमानले कोलोराडोमा आगजनी गरेको आरोपमा पक्राउ परेपछि उनीहरूलाई पनि नियन्त्रणमा लिइएको हो। सरकारले उनीहरूलाई देश निकाला गर्न खोजिरहेको छ। हिरासतमा १० महिना बिताइसकेको यो परिवारले यसअघि १६ वर्षीय छोरालाई एपेन्डिसाइटिस हुँदा पनि केन्द्रले चरम लापरवाही गरेको बताएको छ।