अमेरिकी अध्यागमन हिरासतमा मृत्युदर २२ वर्षयताकै उच्च
- ०४ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको अध्यागमन तथा भन्सार एजेन्सी (आइस) को हिरासतमा मृत्यु हुनेको दर २२ वर्षयताकै उच्च पुगेको छ। ‘जामा’ नामको एक मेडिकल पत्रिकामा बिहीबार छापिएको नयाँ अध्ययनले पछिल्लो डेढ वर्षमा हिरासतमा मृत्युदर ह्वात्तै बढेको देखाएको हो। ट्रम्प प्रशासनको कडा नीति, हिरासतमा धेरै भीडभाड र स्वास्थ्य सेवामा रहेको गम्भीर कमजोरीले गर्दा यस्तो अवस्था आएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
अध्ययन अनुसार गत अक्टोबरदेखि जनवरी १९ सम्म मात्रै हिरासतमा १८ जनाको ज्यान गएको थियो भने त्यसयता थप १० जनाको मृत्यु भइसकेको छ। मुटुसम्बन्धी रोग मृत्युको मुख्य कारण देखिएको छ। ज्यान गुमाउने मध्ये झण्डै आधा (४९ प्रतिशत) व्यक्तिको मृत्युको कारण नै खुलाइएको छैन। जम्मा १३ प्रतिशतको मात्र अस्पतालमा मृत्यु भएको छ, जसले गम्भीर बिरामीहरूले समयमै राम्रो उपचार नपाएको प्रस्ट पार्छ।
यद्यपि, अमेरिकी आन्तरिक सुरक्षा विभागले भने मृत्युदर नबढेको दाबी गरेको छ। उसले आफूहरूले अन्य अमेरिकी जेलहरूमा भन्दा राम्रो स्वास्थ्य सेवा र सुविधाहरू दिइरहेको बताएको छ। तर चिकित्सकहरूले भने बढ्दो मृत्युदर डरलाग्दो भएको भन्दै हिरासतको निगरानी गर्ने निकायहरू पुनः बलियो बनाउन कंग्रेससँग माग गरेका छन्।