२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इरानले फेरि रोक्यो होर्मुज मार्ग, ट्यांकरमाथि गोली प्रहार

इरानले फेरि रोक्यो होर्मुज मार्ग, ट्यांकरमाथि गोली प्रहार

न्युयोर्क- इरानले होर्मुज जलडमरुमार्गमा पुनः रोक लगाएको छ। इरानी सेनाका बोटहरूले उक्त मार्ग हुँदै गइरहेको एउटा ट्यांकरमाथि गोली चलाएको बेलायती सेनाले बताएको छ। अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी नहटाएसम्म यो जलमार्ग बन्द रहने इरानले चेतावनी दिएको छ।

यसअघि इरानले यो व्यापारिक मार्ग खुला गरेको बताएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारमाणविक सम्झौता नभएसम्म इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा लागू रहने बताए। ट्रम्पको यो भनाइलाई इरानले पाकिस्तानको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भनेको छ। तनाव कम गर्न अमेरिका र इरानबीच अर्को चरणको प्रत्यक्ष वार्ता पाकिस्तानमा हुने तयारी भइरहेको छ।

यसैबीच, इजरायल र लेबनानबीच १० दिने युद्धविराम लागू भएको छ र विस्थापित मानिसहरू घर फर्किन थालेका छन्। तर, दक्षिणी लेबनानमा भएको एक आक्रमणमा राष्ट्रसंघीय मिसनमा खटिएका एक फ्रान्सेली सैनिकको ज्यान गएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले यसको जिम्मेवार हिजबुल्लाह भएको बताएका छन्। युद्धविराम लागू भए पनि सम्झौता उल्लङ्घन गरेको भन्दै इजरायलले दक्षिणी लेबनानमा केही हवाई र स्थल आक्रमण गरेको छ।