अमेरिकी हिरासतबाट छुटेकी ८५ वर्षीया फ्रान्सेली वृद्धा स्वदेश फर्किइन्
- ०५ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको अध्यागमन हिरासतमा १६ दिन बिताएपछि ८५ वर्षीया फ्रान्सेली वृद्धा मेरी-थेरेस रोस स्वदेश फर्किएकी छन्। कठिन समय पार गरेर आएकी उनलाई अहिले आरामको आवश्यकता रहेको उनका छोरा हर्भे गोइक्सले बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै गोइक्सले आमालाई सुरक्षित रूपमा घर फर्केको देख्दा परिवारले ठूलो राहत महसुस गरेको बताए।
एक पूर्व अमेरिकी सैनिकसँग विवाह गरेपछि रोस गत जुन महिनामा अमेरिका गएकी थिइन्। गत जनवरीमा उनका श्रीमान्को मृत्यु भएपछि सम्पत्तिको विषयलाई लिएर सौतेनी छोरासँग उनको विवाद सुरु भएको थियो। ९० दिने भिसाको म्याद सकिएपछि उनलाई गत अप्रिल १ मा अलाबामाबाट अमेरिकी अध्यागमन अधिकारीहरूले पक्राउ गरेका थिए। उनी ग्रीन कार्ड बनाउने प्रक्रियामा रहेको उनका छोराले बताएका छन्।
उनलाई राति सुत्ने बेला लगाउने कपडामै पक्राउ गरिएको थियो। पक्राउ पर्दा उनले आफ्नो फोन र राहदानी समेत लैजान पाएकी थिइनन्। फ्रान्सका विदेशमन्त्री जिन-नोएल ब्यारोटले अमेरिकी अध्यागमनको यस्तो व्यवहार फ्रान्सेली मापदण्ड विपरीत रहेको र आफूहरूलाई अस्वीकार्य भएको बताएका छन्। स्थानीय मेयरले पनि यो घटनाले उनलाई मानसिक चोट पुगेको तर अहिले सुरक्षित घर फर्किन पाउँदा निकै खुसी भएको बताएका छन्।