२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अमेरिकी संसद्‌मा यौन दुर्व्यवहारको उजुरी सुन्न महिला सांसदहरूको अग्रसरता

अमेरिकी संसद्‌मा यौन दुर्व्यवहारको उजुरी सुन्न महिला सांसदहरूको अग्रसरता

न्युयोर्क- अमेरिकी कंग्रेस (संसद्) मा कर्मचारीहरूलाई यौन दुर्व्यवहारबाट जोगाउन पर्याप्त काम नभएको भन्दै महिला सांसदहरूले आफ्नै पहलमा उजुरी सुन्ने व्यवस्था मिलाएका छन्। कंग्रेसमा कर्मचारीका लागि उजुरी दिने छुट्टै र सुरक्षित केन्द्रीय निकाय नभएकाले उनीहरूले यस्तो कदम चालेका हुन्।

यौन काण्डमा मुछिएपछि हालै सांसदहरू एरिक स्वालवेल र टोनी गोन्जालेसले राजीनामा दिएका थिए। यस घटनापछि कंग्रेसभित्र नैतिकता र जवाफदेहिताको विषयमा नयाँ बहस सुरु भएको छ। सांसद अन्ना पाउलिना लुना र नोर्मा टोरेस लगायतले आफ्नै कार्यालयमा कुरा राख्न असहज मान्ने पीडित कर्मचारीहरूलाई सीधै आफ्नो कार्यालय वा वेबसाइटमार्फत उजुरी दिन सक्ने व्यवस्था गरेका छन्।

संसद्‌मा आचारसंहिता समिति भए पनि त्यसले निकै ढिलो काम गर्ने र पीडितले न्याय पाउन गाह्रो हुने सांसदहरूको गुनासो छ। उनीहरूले आचारसंहितामा व्यापक सुधार गर्नुपर्ने, छानबिनको समयसीमा तोक्नुपर्ने र यौन दुर्व्यवहारमा मुछिएर राजीनामा दिने वा पदबाट निकालिने सांसदको पेन्सन खारेज गर्नुपर्ने माग गरेका छन्।

हालको नियमले आफ्नै कार्यालयका कर्मचारीसँग यौन सम्बन्ध राख्न बन्देज लगाए पनि अन्य सांसदका कर्मचारीको हकमा केही बोलेको छैन। त्यसैले सांसदहरूले अन्य सदस्यका कर्मचारीसँग पनि सम्बन्ध राख्न नपाउने कडा नियम बनाउनुपर्नेमा जोड दिएका छन्। यस्ता दुर्व्यवहार रोक्न र संसद्‌लाई काम गर्न सुरक्षित थलो बनाउन त्यहाँ महिलाको उपस्थिति अझै बढाउनुपर्ने महिला सांसदहरूले बताएका छन्।