२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

इरान युद्ध रोक्न पाकिस्तानको कूटनीतिक दौडधुप, इस्लामाबादमा वार्ताको तयारी तीव्र

इरान युद्ध रोक्न पाकिस्तानको कूटनीतिक दौडधुप, इस्लामाबादमा वार्ताको तयारी तीव्र

न्युयोर्क- इरान युद्ध अन्त्य गर्न पाकिस्तानले दोस्रो उच्चस्तरीय वार्ताको तयारी तीव्र पारेको छ। वार्ताका लागि इस्लामाबादका सडक सफा गरेर फूलले सजाइएको छ भने सुरक्षाका लागि २० हजार सुरक्षाकर्मी खटाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि एक-दुई दिनभित्रै वार्ता हुने बताए।

वार्ताको पहलस्वरूप पाकिस्तानले इरान, टर्की, इजिप्ट र साउदी अरबसँग छलफल गरेको छ। पाकिस्तानी सेना प्रमुख असिम मुनिरले इरानको तीन दिने भ्रमण सकेर त्यहाँका विदेशमन्त्री र सभामुखसँग संवाद गरे। यो भ्रमण युद्ध अन्त्य र शान्ति स्थापनामा केन्द्रित रहेको पाकिस्तानी सेनाले बतायो।

यसैगरी, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ र विदेशमन्त्री इशक दरले पनि टर्की र साउदी अरबको भ्रमण सके। गत साता अमेरिका र इरानबीच पाकिस्तानमै भएको पहिलो वार्ता सफल हुन सकेन। तर, यसपटक पाकिस्तानले बढाएको कूटनीतिक दौडधुपले सकारात्मक परिणाम दिने सबैको आशा छ।