सियाटलमा लागुऔषध र घरबारविहीनको समस्या विकराल, मेयरको नीतिमाथि प्रश्न
- ०५ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको सियाटल सहरमा घरबारविहीन र खुला रूपमा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएपछि चिन्ता थपिएको छ। सहरका पार्क र सार्वजनिक स्थलहरूमा लागुऔषध सेवन गर्न प्रयोग गरिने सामग्री र सुईहरू जताततै भेटिन थालेका छन्। बढ्दो यो समस्या समाधान गर्न समाजवादी मेयर केटी विल्सनको प्रशासनले लिएका नीतिहरू प्रभावकारी नभएको भन्दै आलोचना सुरु भएको छ।
‘वि हर्ट सियाटल’ नामक संस्थाकी संस्थापक एन्ड्रिया सुआरेजले सहरका पार्कहरूमा बालबालिका खेल्ने ठाउँ नजिकै लागुऔषधका अवशेषहरू प्रशस्तै भेटिएको बताइन्। सन् २०२४ मा मात्रै सियाटल सहरले घरबारविहीनको व्यवस्थापनमा १५ करोड ३८ लाख डलर खर्च गरेको छ। तर, लागुऔषध प्रयोगकर्तालाई सुरक्षित रूपमा प्रयोग गर्ने सामग्री बाँड्ने सहरको नीतिले समस्यालाई झनै बढावा दिएको आलोचकहरूको भनाइ छ।
मेयर विल्सनले सडकमा बस्नेहरूका लागि आश्रय स्थल र साना घरहरू थप्ने योजना अघि सारेकी छन्। तर, लागुऔषध छाड्नुपर्ने सर्त बिना नै दिइने यस्तो बासस्थानले सुधारमा कुनै सहयोग नगर्ने सुआरेजले दाबी गरिन्। अर्कोतर्फ, केही जनप्रतिनिधिहरूले भने यो समस्या समाधानका लागि थप बजेट र उनीहरूप्रति सहानुभूतिपूर्ण व्यवहार आवश्यक रहेको बताएका छन्।