अमेरिका-इरान शान्ति वार्ता अघि पाकिस्तानमा कडा सुरक्षा, २० हजार प्रहरी सडकमा
- ०७ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिका र इरानबीच हुन लागेको दोस्रो चरणको शान्ति वार्तालाई लिएर पाकिस्तानले आफ्नो राजधानी इस्लामावाद र सँगैको सहर रावलपिंडीमा कडा सुरक्षा व्यवस्था मिलाएको छ।
प्रहरीका अनुसार यी दुई सहरमा करिब २० हजार प्रहरी खटाइएको छ। अति संवेदनशील ठाउँहरूमा विशेष तालिम प्राप्त सुरक्षाकर्मी र निसानबाजहरू राखिएका छन्। सडक र अग्ला भवनका छतबाट सुरक्षा क्यामेरा र निसानबाजहरूले २४सै घण्टा निगरानी गरिरहेका छन्। गस्ती गर्ने र तत्काल उद्धारमा खटिने विशेष प्रहरी टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ।
सुरक्षा व्यवस्था मिलाउन मद्दत गर्न अमेरिकाबाट पनि विशेष सुरक्षा टोली पाकिस्तान आइपुगेका छन्। अहिले इस्लामावाद र रावलपिंडीमा सार्वजनिक सवारीसाधन र सामान बोक्ने गाडी चलाउन रोक लगाइएको छ। मुख्य सरकारी कार्यालयहरू रहेको अति सुरक्षित क्षेत्रका नाकाहरू पनि पूर्ण रूपमा बन्द गरिएका छन्।
सरकारले सुरक्षाको कारण देखाउँदै राजधानीका ठूला होटेलहरू खाली गराएको छ। त्यहाँका अन्य साना बास बस्ने ठाउँहरूलाई पनि अर्को सूचना नआएसम्म बन्द गर्न निर्देशन दिइएको छ। मध्यपूर्वमा बढ्दै गएको तनाव कम गर्ने उद्देश्यले अमेरिका र इरानबीच यो वार्ता हुन लागेको हो।