जापानमा संविधान संशोधनको विरोध, सडकमा उत्रिए ३६ हजार नागरिक
- ०८ बैशाख २०८३
- १ मिनेटको पढाई
टोकियो- जापानी प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले देशको शान्तिवादी संविधान फेर्न लागेको विरोधमा टोकियोमा ठूलो प्रदर्शन भएको छ। संसद् भवन वरपर करिब ३६ हजार मानिस भेला भएर संविधानको धारा ९ को रक्षा गर्न माग गरेका छन्।
आयोजकहरूका अनुसार अप्रिल ८ यता संसद् भवन नजिकै ३० हजारभन्दा बढी मानिस भेला भएको यो दोस्रो पटक हो। प्रदर्शनकारीहरूले ‘युद्ध चाहिँदैन’, ‘धारा ९ कमजोर नबनाऊ’ र ‘ताकाइची राजीनामा देऊ’ लेखिएका पर्चाहरू बोकेका थिए। सन् १९४७ मा लागू भएको जापानको संविधानलाई शान्तिवादी मानिन्छ। यसको धारा ९ ले युद्ध गर्न र सेना राख्न पूर्ण रुपमा रोक लगाएको छ।
तर, प्रधानमन्त्री ताकाइची र त्यहाँका केही समूह लामो समयदेखि यो नियम परिवर्तन गर्न खोजिरहेका छन्। अप्रिल १२ मा भएको पार्टीको भेलामा ताकाइचीले संविधान संशोधन गर्ने बेला आएको बताएकी थिइन्। उनको यो तयारीपछि जापानी समाजमा निकै चिन्ता र विरोध बढेको छ।