अमेरिकामा मेडिकल गाँजामाथिको प्रतिबन्ध खुकुलो बनाइँदै
- १० बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको ट्रम्प प्रशासनले राज्यबाट अनुमति प्राप्त र सरकारी निकायबाट स्वीकृत मेडिकल गाँजामाथिको प्रतिबन्ध खुकुलो बनाउने भएको छ। कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले गाँजालाई कडा प्रतिबन्धित सूचीबाट हटाएर कम जोखिमपूर्ण सूचीमा राख्ने आदेशमा हस्ताक्षर गरेको जानकारी दिएका छन्।
यसअघि गाँजालाई हेरोइन जस्ता अत्यन्तै खतरनाक र कडा कानुन लाग्ने ‘अनुसूची १’ को लागूऔषध सूचीमा राखिएको थियो। अब यसलाई शारीरिक तथा मानसिक लत कम लाग्ने ‘अनुसूची ३’ मा सारिएको छ। महान्यायाधिवक्ता ब्लान्चले यो निर्णयले गाँजाको प्रयोगबाट हुने फाइदा र सुरक्षाका विषयमा थप अनुसन्धान गर्न बाटो खुलाउने बताए।
बिरामीलाई राम्रो उपचारको विकल्प दिन राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको वाचा अनुसार नै यो कदम चालिएको न्याय विभागले जनाएको छ। यसले बिरामीको उपचारमा सहजता ल्याउने र डाक्टरहरूलाई थप भरपर्दो जानकारी दिने सरकारको विश्वास छ। अमेरिकामा गाँजाको कानुनी मान्यताका विषयमा थप परिवर्तन गर्न आउँदो जुन २९ मा विशेष सुनुवाइ हुँदैछ।